‘साहित्य जगत्  जाटहरूको रूढ पञ्चायत हो र ?’ 

राम्रो अनलाइन     ०६ असार २०७८, आइतबार
‘साहित्य जगत्  जाटहरूको रूढ पञ्चायत हो र ?’ 

हरि अधिकारी नेपाली साहित्यमा शक्तिशाली नाम हो । कविता, आख्यान र समीक्षामा कलम चलाउने उनको मूल परिचय भने प्रतिभासम्पन्न कवि हो । ‘कडा समीक्षक’ का रूपमा परिचित अधिकारीका कथा पनि लोकप्रिय छन् । उनका ‘हरि अधिकारीका कविता’, ‘संसद्मा एक दिन’, ‘गार्मेन्टकी गायत्री’ कवितासंग्रह, ‘रामलालको आकाश’, ‘प्रतिनायक’ कथासंग्रह, ‘एक्लो नायक’ उपन्यास प्रकाशित  छन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी । 


तपाईंको कथा–किताब यस वर्ष मदन पुरस्कारको सूचीमा देखियो । कस्ता पाठकलाई ध्यानमा राखेर कथा लेख्नुहुन्छ ? पाठकले तपाईंका कथा बुझेनन् भने कसलाई दोषी सम्झनुहुन्छ ? नबुझ्ने पाठकलाई कि आफैँलाई ?

म पाठकको रुचि र स्तरलाई हेरेर भन्दा पनि कथाको विषयवस्तु, कथ्य, त्यसले प्रतिनिधित्व गर्ने समाज, मानिस र उसको मनोविज्ञानलाई ध्यानमा राखेर कथा लेख्ने कोसिस गर्छु । मेरा कथा नबुझिने खालका हुन्छन् जस्तो मलाई लाग्दैन । पाठकको साहित्यलाई लिने र बुझ्ने स्तरको वैभिन्यका कारण मेरा कथालाई कति राम्रोसँग बुझने भन्ने कुरा भने फरक पर्न सक्छ । पाठकहरूको साहित्यचेतअनुसार मेरा कथाहरू फरक–फरक ढंगले पढिँदै र बुझिँदै आएकाले कसैलाई पनि दोष दिनुपर्ने स्थिति छ जस्तो मलाई लाग्दैन ।

सुनिन्छ– तपाईं आफूलाई निकै ‘गज्जबको’ कथाकार सोच्नुहुन्छ । समकालीन कथाकारबारे चाहिँ के सोच्नुहुन्छ ? 

म आफूलाई ‘गज्जबको’ कथाकार ठान्दिनँ । यस्तो दाबी गर्ने आँट मसँग छैन । म त सकभर भाँती पुर्‍याएर लेख्न प्रयास गर्ने कथाकार मात्र हुँ । मसँगै कथा लेखिरहेका साथीहरूप्रति मेरो ठूलो आदरभाव छ । तर, मेरो अपेक्षाअनुरूप नेपाली कथा साहित्य अघि बढिरहेको छ भन्ने चाहिँ मलाई लाग्दैन । हामीभन्दा पहिलेको पुस्ताका कथाकारले नेपाली कथालाई जुन उचाइमा पुर्‍याएका थिए, अहिले पनि नेपाली कथा लेखनको उचाइको त्यही प्रतिमान कायम छ ।

समकालीन कथाकारमा तपाईंलाई सबैभन्दा महत्वपूर्ण कथाकार को लाग्छ ? 

यो प्रश्नको उत्तर दिन गाह्रो छ । एउटै मात्र कथाकारलाई समकालीन कथाकारमध्ये सबैभन्दा महत्वपूण भन्ने पदवी दिने साहस गर्न सक्दिनँ । समकालीन कथाकारमा केही उल्लेख्य नाम लिनोस् भन्नुभएको भए सायद म त्यसका लागि तयार हुने थिएँ । 

लेखनमा झुर, बेजोड वा महान् भन्ने मापन कुन आधारमा कसरी गरिन्छ ?

लेखनलाई यी तीन वर्गमा राखेर हेर्नुभन्दा राम्रो र नराम्रो भन्ने दुई वर्गमा राखेर हेर्दा सुविधा हुन्छ जस्तो लाग्छ मलाई । पहिले नराम्रो लेखनको कुरा गरौँ । जुन लेखनमा जुन विधामा लेख्न खोजिएको हो, त्यसको मर्यादा राखिएको छैन, जुन भाषामा लेखिएको हो, त्यसको सौन्दर्य बढाउने प्रयत्नभन्दा त्यसमाथि बलात्कार गरिएको हुन्छ, जुन लेखनमा लेखक स्वयंलाई के लेखिरहेको थाहा हुँदैन, जुन लेखनमा साहित्यको स्वच्छतामाथि राजनीतिको हिलो, त्यो पनि भद्दा ढंगले छ्यापिएको हुन्छ, त्यो नराम्रो लेखनको नमुना हो । अब राम्रो लेखन कस्तो हुन्छ भन्ने कुरा तपाईं सजिलै बुझ्न सक्नुहुन्छ ।

तपाईंको विचारमा तपाईंका पूर्ववर्ती वा समकालीन कथाकारले झुर, बेजोड वा महान् कथा लेखेका छन् ? उनीहरूका नाम पनि खुलाइदिनुस् न । 

मेरा पूर्ववर्ती कथाकारमध्ये असाध्यै राम्रा कथा लेख्नेमा गुरुप्रसाद मैनाली, बीपी कोइराला, पुष्करशमशेर, भवानी भिक्षु, विजय र गोविन्द मल्ल, दौलतविक्रम विष्ट, पोषण पाण्डे, रमेश विकल, केदारमान अमात्य, नन्दराम लम्साल र पारिजात आदि हुन् । यीभन्दा अलि कमसल तर उल्लेख्य कथाकार पनि धेरै छन् । तर, यी सबैमध्ये पनि उत्कृष्ट तीन जनाको नाम लिनुप¥यो भने म गुरुप्रसाद मैनाली, बीपी कोइराला र दौलतविक्रम विष्टको लिन्छु । त्यसपछि आएकाहरूमा प्रयोगधर्मिता र धेरै थान कथा लेखेका हिसाबले ध्रुवचन्द्र गौतमको नाम लिँदा हुन्छ तर मलाई भने उनको लेखनले अलिकति पनि तान्दैन । समकालीन कथाकारहरूको कुरा गर्दा म स्पष्टसँग भन्न चाहन्छु, मभित्रको सजिलै प्रभावित नहुने पाठकलाई सन्तुष्ट पार्न सक्ने खालका धेरै थान कथा मेरा साथीहरूबाट अझै लेखिन बाँकी छ । 

अब समीक्षाको कुरा गरौँ । नेपाली समीक्षाको वर्तमान दृश्य कस्तो छ ?

नेपाली साहित्यमा पनि अहिले आएर पुस्तक समीक्षा हुन सुरु भएको छ । यो सुरुवात गर्नेमा म आफू अग्रणी भएकोमा सन्तुष्ट छु । अब यो माध्यम पुस्तक परिचयको स्तरबाट माथि उठेको छ । हरेक कार्यव्यापारमा जस्तै यसमा पनि व्यापारिक जालझेलको पनि प्रवेश भएको देखिन्छ, जुन कुरा राम्रो होइन । अरू खाले पेशा वा कलामा नाम र दाम प्रशस्त कमाएर नपुगी लेखक बन्ने हुटहुटीले हुरुक्क भएका झुरहरूले पैसा खर्चेर पुस्तक लेख्न लगाउने, छाप्ने र त्यसको प्रचारका लागि भाडाका टट्टु समीक्षक र पत्रपत्रिकाका साहित्य परिशिष्ट संयोजकलाई प्रयोग गर्ने प्रवृत्ति व्यापक हुँदैछ ।  

पत्रपत्रिकामा अचेल तपाईंका समीक्षा नियमित आउँदैनन् । समीक्षा गर्ने आँट हराएको हो ? 

त्यस्तो किन हुन्थ्यो ? म अरू परियोजनामा व्यस्त भएकाले पुस्तक समीक्षा अलि कम गरेको मात्र हो । तैपनि, मैले यी दुईचार महिनाका बीचमा करिब १० वटा पुस्तकको समीक्षा गरेको रेकर्ड छ । 

मोहन कोइरालाको अमूर्त कविता मन पराउने तपाईंलाई प्रष्ट बुझिने कविहरू कसरी प्रिय भए ?

त्यो कुनै झारपाते मनस्थितिको टिप्पणी हो जस्तो लाग्छ, जसको भनाइ आधारभूत रूपले नै घटिया छ । एउटा पाठकको रूपमा कविताका बारेमा मेरा निश्चित मान्यता र धारणा छन् । ती मौसमअनुसार फेरिने होइनन् । ‘हरि दाइलाई कवि समाजबाट बहिष्कृत हुने डर लाग्यो’ भन्या के हो ? योभन्दा चुतियापन्थी बात अर्को हुन सक्दैन । कुन चाहिँ कवि समाजले मलाई शिरमाथि राख्दै आएको छ र अहिले बहिष्कारको ध्वाँस दिन खोजिएको हो ? साहित्य जगत् भारत, हरियाणाको खाप अर्थात् जाटहरूको रूढ पञ्चायत त होइन होला, मन नपरेकालाई जातिच्युत गर्ने र सके झुण्ड्याइ पनि दिने ! मोहन

कोइरालालाई मन पराउनेले अरू कविहरूलाई मन पराउनु हुन्न भन्ने नियम छ र नेपाली कविताको संसारमा ? 

केही मान्छेले साहित्यिक चोक–चौतारोमा उभिएर भन्न थालेका छन्– ‘मदन पुरस्कारप्रति व्यापक आक्रामक हरि अधिकारी आफ्नो किताब पनि पुरस्कारको सूचीमा परेपछि शान्त भए ।’ यस पुरस्कारप्रति तपाईं यस वर्ष मौन कसरी ? भित्री मनमा पुरस्कारको आश थियो भनेर यहाँनेर हल्का ‘कन्फेसन’ गर्दा के बिगे्रला र ?

ती चोके–चौतारेहरूको मनोरञ्जनका लागि मैले मौका÷बेमौका मदन पुरस्कारकै बारेमा कराउँदै हिँड्नु पर्ने भन्या हो ? जहाँसम्म मेरो कथासंग्रह यस सालको मदन पुरस्कारको ‘सर्ट लिस्ट’मा परेको प्रसंग छ, त्यस विषयमा मलाईभन्दा मदन पुरस्कार गुठीका कर्ताधर्तालाई नै सोध्नु बेस हुन्छ, ‘हरि अधिकारीको किताब किन सर्ट लिस्ट र्‍या र किन पुरस्कार नदिएको ?’ भनेर । म यस मामिलामा त्यो किताब मेरो हुनुभन्दा बढी एक इन्च पनि संलग्न थिइनँ, छैन । 

कम्युनिस्ट कविहरूसँग तपाईंको दोस्ती बढ्दैछ, सम्बन्ध सुध्रिँदैछ, हैन ?

कम्युनिस्ट कविहरूसँग निजी स्तरमा मेरो धेरै पहिलादेखि नै सुमधुर सम्बन्ध रहँदै आएको हो, जुन अहिले पनि कायम छ । 

पहिचानवादी कविता’, ‘माक्र्सवादी कविता’प्रति तपाईंको धारणा के छ ?

पहिचानवादी प्लेटफर्ममा कविता लेखिनु राम्रो हो । तर, त्यस्तो कविता राजनीतिक नारा जस्तो मात्र नहोस्, साँच्चिकै कविता नै बनोस् भन्नेतर्फ कवि स्वयंले सजगता अपनाउन सके धेरै बेस हुन्छ । यो माक्र्सवादी कविता भनेको चाहिँ पटक्कै बुझिनँ । नबुझेको सवालको जवाफ कसरी दिनु र ? 

तपाईंको कविता शक्ति ह्रास हुँदैछ भनिन्छ । हो ? 

मैले लेखेका लगभग डेढ सय कवितामा केही निकै राम्रा छन्, केही ठीकठीकै र धेरै कमजोर । मेरो लेखाइको गति पनि समान छैन । कहिले छिटो–छिटो लेख्छु । कहिले धेरै दिनसम्म लेख्दिनँ । म धेरै उर्वर लेखक पनि होइन । आजभोलि गद्यका एकदुई अलि ठूला परियोजनाका कारण कविता कम लेखिरहेको छु । तपाईं स्वतन्त्र हुनुहुन्छ, यसलाई ह्रास भएको भन्न पनि । 

‘विकृत सेक्स’, र ‘दमित वासना’लाई लेखकहरू किन कथाको विषय बनाउँछन् ? 

त्यस्ता विषयहरूमा लेखेर नामी भएकाहरूलाई सोध्दा राम्रो हुन्छ यो सवाल । म भने तपाईंले विशेष जोड दिएका यी दुई विषयमा केन्द्रित भएर कथा लेख्दिनँ ।
बजारका मनुवाहरूको ‘सिम्पल’ विश्लेषण छ– ‘कवि र कथाकारका रूपमा चर्चित अधिकारी उपन्यासमा सुपरफ्लप भए ।’ किताबलाई बजार र ‘गम्भीर पाठक’ दुवैले चरम बेवास्ता गर्नुको कारण के होला ?

मेरो उपन्यास ‘एक्लो नायक’ आशाअनुरूप सफल नभएको कुरा स्वीकार गर्छु । तर, सुपर फ्लप नै भएको चाहिँ होइन । प्रकाशनमा आएको अठार महिनामा चार सय पृष्ठभन्दा बढीको मोटो उपन्यासका तीन हजार प्रति बिकिसकेर दोस्रो संस्करण छापिँदैछ । ती मनुवाहरूका निम्ति यही सुपर फ्लप हुनुको प्रमाण हो भने मलाई केही भन्नु छैन । यस किताबलाई बजार र गम्भीर पाठक दुवैले चरम बेवास्ता गरेको भन्ने तपाईंको बयान गलत छ । हो, मैले पैसा खर्च गरी–गरी अनेक उपाय लगाएर त्यो कृति हटकेक भएको भन्ने हल्ला नपिटाएको भने अवश्य हो । 

प्रतिक्रिया