डन्डीफोर रोग होइन । किशोरावस्थामा देखापर्ने डन्डीफोरलाई मेडिकल भाषामा ‘एक्ने’ भन्निछ । ‘पिम्पल’ पनि भन्ने गरिन्छ । शरीरको वृद्धि र विकास हुने उमेर १२ देखि २६ वर्षसम्मका धेरै युवायुवतीलाई डन्डीफोरको समस्याले सताउँछ । डन्डीफोर छालामा हुने एक प्रकारको समस्या हो भन्ने नबुझ्दा र डन्डीफोर निको पार्ने भन्दै विभिन्न घरेलु उपाय अपनाउँदा धेरैले अनुहारको सुन्दरता गुमाउँछन् । यो विशेष गरेर अनुहार, ढाड तथा छातीमा आउने गर्छ । डन्डीफोर शरीरको चिल्लोपन निकाल्ने ग्रन्थिसँग सम्बन्धित हुन्छ । चिल्लोपन निकाल्ने ग्रन्थि अनुहार, ढाड र छातीमा बढी हुने भएकाले यी भागमा नै डन्डीफोर धेरै आउँछ ।
युवावस्थामा एक किसिमको सेक्स (प्रजनन) हर्माेनको मात्रा बढ्छ । जसले छालामा चिल्लोपन निकाल्ने ग्रन्थिलाई उत्तेजित गर्छ । धेरै चिल्लो पदार्थ निस्कँदा मानिसको शरीरमा हुने रौँको फेदमा रहेका स–साना प्वाल बन्द हुन्छन् । रौँको जरामा जोडिएर बसेको एक प्रकारको ग्ल्यान्ड हुन्छ । यो ग्ल्यान्डले छालालाई चिल्लो बनाउने विशेष प्रकारको रस उत्पादन गर्छ । जुन बेला रौँको जरामा रहेको प्वाल बन्द हुन्छ, त्यस्तो बेलामा छालालाई चिल्लो बनाउने रस बाहिर निस्कन पाउँदैन । यो छालाभित्रै जम्छ । यसरी जमेको अवस्था नै डन्डीफोर अर्थात् पिम्पलको अवस्था हो । यसका चार वटा तह हुन्छन् । स्वास्थ्य विज्ञानले ग्रेड एकदेखि चारसम्म यसको वर्गीकरण गरेको छ । डन्डीफोरको पहिलो चरण ‘ब्ल्याक हेड’ हो । काला स–साना गिर्खा अनुहारमा भएको अवस्थालाई नै ब्ल्याक हेड मानिन्छ । यो रातो देखिँदैन । यसलाई बेलैमा उपचार गरिएन भने त्यो जमेको चिल्लो पदार्थमा एक किसिमको ब्याक्टेरियाको संक्रमण हुन्छ र डन्डीफोर रातो हुनुका साथै पाक्न थाल्छन् । यसलाई उपचार गरिएन भने गाँठो र पिलोका रूपमा देखापर्छ ।
डन्डीफोरलाई जथाभावी निचोर्ने र कोट्याउने गर्नु हुँदैन । यसो गर्दा अनुहारमा दाग बस्छ । अनुहार, छाती, कुम र कहिलेकाहीँ ढाडमा पनि डन्डीफोर आउँछन् । कपडाले ढाक्ने भागमा डन्डीफोर आउँदा खासै फरक पर्दैन । तर, अनुहारमा डन्डीफोरले दाग, धब्बा र स–साना खोपिल्टा छोडेर जाने भएकाले यो धेरैको चिन्ताको विषय बन्ने गरेको छ ।
डन्डीफोर धेरै चिल्लो छालामा देखिने समस्या हो । यसबाट जोगिन छालालाई सुक्खा राख्नुपर्छ । जीवनशैलीमा ध्यान दिनुपर्छ । धेरै चिल्लो खानेकुरा खानु हुँदैन । चकलेट, आइसक्रिम, पिज्जा, मःमःजस्ता खानेकुरा बढी खानेले क्यालोरी कम भएका खानेकुरा खानुपर्छ । खानामा चिनी र चिल्लोको मात्र घटाउनुपर्छ । छालालाई सुक्खा बनाउने क्रिम लगाउनुपर्छ । डन्डीफोरले निकै नै दुःख दिएको छ भने विशेषज्ञ चिकित्सकको निगरानीमा एन्टिबायोटिक क्रिम लगाउन सकिन्छ र औषधि खानुपर्ने हुन्छ ।
डन्डीफोरले बिगारिसकेको अनुहारको छालालाई सफा बनाउन औषधि र क्रिमले मात्र काम गर्दैन । यसका लागि लेजर थेरापी र केमिकल पिलिङ गर्नुपर्छ । डन्डीफोरका कारण दाग बसेको छालालाई मेसिनको मद्दतले हटाउने विधि प्रयोग गरी उपचार गर्नुपर्छ । यो विधिमा दाग बसेको छालाको बाहिरी तहलाई हटाउने र नयाँ छाला पलाउने अवस्था सिर्जना गरिन्छ । यसो गर्दा समेत अनुहारको शतप्रतिशत दाग भने जाँदैन । केही कम भने हुन्छ । डन्डीफोर आउन थालेपछि त्यसलाई कोट्याउने तथा निचोर्ने नगरी विशेषज्ञ चिकित्सकलाई देखाएर सावधानी अपनाउँदा अनुहारमा आउने समस्याबाट बच्न सकिन्छ ।
डन्डीफोर निको हुन्छ भन्दै प्रचार गरिएका फेसवासले कुनै फाइदा पुर्याउँदैनन् । फेसवासले मुख धुँदा अनुहारमा टाँसिएको धुलोमैलो सफा भए पनि यसले डन्डीफोर निको हुँदैन । डन्डीफोर फुटाएर मुख खुला गरेपछि यो निको हुन्छ भन्ने भ्रम धेरैमा हुन्छ । कतिपयले फेसवास लगाएर छाला रगडेर मुख धुने गर्छन् । जसले गर्दा डन्डीफोर फुटेर संक्रमण हुने र छालामा दाग बस्ने सम्भावना बढी हुन्छ । छाला रोग विशेषज्ञको सल्लाहमा कोमोडोलाइटिक क्रिम लगाउनुपर्छ । डन्डीफोर आएपछि घरेलु उपचारको पछि लागेर अनुहारमा दाग बस्ने अवस्था आउन दिनुभन्दा छाला रोग विशेषज्ञसँग परामर्श गरेर उपचार गर्दा डन्डीफोर निको पनि हुने र पछि दाग पनि नबस्ने हुन्छ ।