रेटिनोब्लास्टोमाले ज्यानकै जोखिम

राम्रो अनलाइन     २७ मंसिर २०८१, बिहिबार
रेटिनोब्लास्टोमाले ज्यानकै जोखिम

 

काठमाडौं- के तपाईंले अध्यारो कोठामा आफ्ना नानीबाबुको तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टीका देखिन्छ ? यदि देखिन्छ भने सचेत हुनुहोला। यो सुझाव हो आँखाको क्यान्सर विशेषज्ञ डा पूर्णिमा राजकर्णीकार स्थापितको। उनी भन्छन्, 'यस्तो हुँदा सचेत रहनुहोला र अन्य लक्षणहरू पनि ख्याल गर्नुहोला !'    

आँखा असामान्य रूपमा रातो हुने, दुख्ने, आँखाको आकार ठूलो हँदै जाने, बाहिरतिर आउने, आँखाको डेढोपन र आँखा सुक्दै जाने लक्षणहरू देखिन्छन् भने बालबालिकाको आँखामा हुने क्यान्सर जस्तो घातक रोग ‘रेटिनोब्लास्टोमा’ हुनसक्छ। 'पाँच वर्षमुनिका बालबालिकामा यी लक्षणहरू देखिए तुरुन्त पहिचान र उपचार हुनुपर्छ', तिलगङ्गा आँखा प्रतिष्ठानका ओकुलर ओन्कोलोजिस्ट र ओकुलोप्लास्टिक सर्जन डा स्थापितले भने, 'रेटिनोब्लाष्टोमाको समयमा उपचार नहुँदा आँखाको ज्योतिमात्र गुम्दैन यसले बालबालिकाको मृत्युको जोखिमसमेत बढाउछ।' 

प्रारम्भिक अवस्थामा समस्या पहिचान गर्न सके यो रोग फैलिनबाट बचाउन सकिने उनको भनाइ छ। 'आँखामा ट्युमर विकास हुनुअघि नै यसको पहिचान हुनुपर्छ। यसबारे अभिभावक सुरुदेखि नै सचेत हुनुपर्छ', डा स्थापितको सुझाव छ। विश्वमा १५ हजार बालबालिकामध्ये एक जनामा रेटिनोब्लास्टोमाको समस्या हुने गर्छ। धेरैजसो पाँच वर्षमुनिका बालबालिकामा यो समस्या देखिने गरेको चिकित्सहरूले बताउने गरेका छन्। डेढ वर्षको उमेर समूहका बालबालिकामा यो समस्या बढि देखिने गरेको डा स्थापितले जानकारी दिए। उनका अनुसार तिलगंगा आखाँ प्रतिष्ठानमा मात्रै वार्षिक ५० जना यस्ता नयाँ बिरामी थपिने गरेका छन्। त्यसमध्ये मधेश प्रदेशका सिरहा र सर्लाहीबाट आउने बिरामी धेरै छन्। 'नेपालमा आँखा परीक्षण गर्ने चलन छैन। कतिपय बालबालिकालाई जन्मदै आँखामा यो समस्या हुन सक्छ। त्यसैले समयमै आफ्नो बालबालिको आँखा स्वास्थ्यबारे ख्याल गरौँ', डा स्थापितले भने।

विकशित देशहरूमा यस्तो आँखा क्यान्सरबाट मृत्यु हुने दर पाँच प्रतिशत रहेको छ तर विकासशील देशहरूमा भने मृत्युदर ५० प्रतिशत रहेको छ। समयमा पहिचान र उपचार नभए बालबालिकाको मृत्युको जोखिम ९९ प्रतिशतसम्म हुने गरेको जानकारहरू बताउँछन्। दक्षिण एसियाका बङ्गलादेश, पाकिस्तान र नेपालमा मृत्युदर बढि देखिएको छ।  

उपचार के हो ?

रेटिनोब्लास्टोमाको उपचार शल्यक्रियाबाट हुन्छ। डा स्थापितले शल्यक्रियाबाट ट्युमरको उपचारका साथै अवस्थाअनुसार किमो थेरापी र रेडियसन पनि आवश्यक हुने बताए। शल्यक्रियाबाट नक्कली आँखा प्रत्यारोपणसमेत गर्ने गरिएको उनले जानकारी दिए। “आँखा र दृष्टि दुवै बचाउनका लागि समयमा पहिचान हुनु अनिवार्य छ, अस्पताल छिटो आउनुपर्‍यो। रोग लागिसकेपछि लेजर पद्धतिबाट शल्यक्रिया गरिन्छ। यसको उपचार लगातार दुई तीन वर्षसम्म गरिरहनुपर्ने हुन्छ”, डा स्थापितले भने। यस रोगबारे पर्याप्त जनचेतना नहुनु र कमजोर आर्थिक अवस्थाका कारण पनि बिरामीले समयमै पहिचान र उपचार पाउन नसकेको नेत्र रोग विशेषज्ञहरू बताउँछन्। 

 

 


 

प्रतिक्रिया