काठमाडौँ– राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस आफ्नो सेवालाई सन्तुलित, विश्वसनीय र भरपर्दो बनाउँदै नागरिकको सूसुचित हुने अधिकारलाई सुनिश्चित गर्न लागेको बताएका छन्।
रासस कर्मचारी सङ्घको चौथो केन्द्रीय अधिवेशन तथा साधारणसभाको अवसरमा उनले उपलब्ध स्रोत साधनको भरपुर उपयोग गर्दै राससको समाचार सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन लागेको बताए ।
कार्यकारी अध्यक्ष झाले संस्था बलियो र विश्वसनीय भएमात्रै यसको गरिमा र महत्व बढ्ने भन्दै त्यसका निम्ति सम्पूर्ण पत्रकार कर्मचारी जिम्मेवापूर्वक लाग्न निर्देशन दिए । ‘राससको मुख्य दायित्व समाचार सेवा हो, समाचार बढी प्रयोग हुने वातावरण बनेको छ । समाचारको विविधता र गुणस्तर अभिवृद्धि भएको छ । अनौपचारिक समाचार र खोजी समाचारलाई बढी प्राथमिकता दिइएको छ, सेवाग्राहीले पछिल्लो राससको सामग्रीलाई रुचाएका छन् र सकारात्मक प्रतिक्रिया जनाइरहेका छन्’, उनले भने ।
कार्यकारी अध्यक्ष झाले राससको सेवालाई थप प्रभावकारी बनाउन जनशक्तिको क्षमता अभिवृद्धिका लागि काम भइरहेको बताए । उनले कर्मचारी सङ्घ सङ्गठनसँगको समन्वय र सहकार्यमा संस्थागत सुधार र सेवा सुदृढिकरणमा राससले फड्को उल्लेख गरे ।
राससका महाप्रबन्धक सिद्धराज राईले रासस व्यवस्थापनले उपलब्ध स्रोतसाधन र जनशक्तिको अधिकतम उपयोग गर्दै सेवालाई चुस्त र प्रभावकारी बनाउन लागिपरेको बताए । उनले राससका पत्रकार कर्मचारीको वृत्तिविकासलाई निरन्तर अगाडि बढाइएको, रासस ऐन, विनियमावलीलाई समय सापेक्ष बनाएर लैजान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाइँले राससको श्रीवृद्धिका लागि राससमा क्रियाशील सङ्घ सङ्गठनले रचनात्मक सहयोग गर्दै राससको सेवालाई प्रभावकारी बनाउन भूमिका खेल्नुपर्ने धारणा राखे ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले रासस व्यवस्थापन र कर्मचारी सङ्गठनबीच समन्वय र सहकार्यका साथ पत्रकार कर्मचारीको वृत्ति विकासका कामलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए । रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले कर्मचारीको वृत्तिविकाससँगै समाचारको गुणस्तर अभिवृद्धिका लागि लगानी बढाउनुपर्ने बताइन्।
सङ्घको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ ।