राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बासडरमा अनुबन्ध 

राम्रो अनलाइन     ०४ असार २०८१, मङ्गलबार
राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बासडरमा अनुबन्ध 


काठमाडौं– अभिनेता राजेश हमाल राठी ग्रुपको उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राठी ग्रुपका अध्यक्ष अरूणकुमार राठी र अभिनेता हमालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनमार्फत यसको प्रचार गर्ने कम्पनीले जनाएको छ ।

हमाललाई एम्बासडर नियुक्त गरेपछि राठी ग्रुपका अध्यक्ष अरूणकुमार राठीले ‘राठी’ ब्रान्डले चलचित्रमा हमालको उत्कृष्ट विरासतलाई सदैव सम्मान गर्ने बताए ।

उनले हमाललाई ब्रान्ड एम्बासडरको रूपमा स्वागत गर्दै यस सहकार्यले नेपाली चलचित्र र समाजको लागि ुमहानायकुको प्रतिबद्धता र ‘राठिकोल’को उत्कृष्टताको प्रतिबद्धतासँग उत्तम रूपमा मेल खाने विश्वास व्यक्त गरे ।

अभिनेता हमालले ‘राठीकोल’लाई ‘नेसनल प्राइड’को रूपमा सम्बोधन गर्दै नेपालमा यो गुणस्तरको उत्पादन हुनु सबै नेपालीको लागि गर्वको कुरा रहेको बताए ।

उनले कैयौँ विदेशी ब्रान्डहरूलाई जित्दै आफ्नो वर्चस्व कायम गर्न सफल रहेको बताउँदै यसको गुणस्तरको विश्वास लिएपछि मात्र एम्बासडर बन्न राजी भएको बताए । उनले भने, “निकै वर्ष पहिले ‘राठीकोल’को चाखलाग्दो विज्ञापन आउँदा नै मैले यो ब्रान्डबारे थाहा पाएको थिएँ, पछिसम्म मेरो मानसपटलमा यो रहिरहेको रहेछ ।”

राठीकोलका सीईओ योगेश राठीले हमालको चलचित्र यात्रा र राठीकोलको उत्पादनको यात्रा बराबर ३५ वर्ष रहेको उल्लेख गर्दै निरन्तर सहकार्यमा रहने बताए । १३० वर्ष पुरानो इतिहास रहेको राठी ग्रुपले स्विच, केबल, बल्ब, हार्डवेयर र राठीकोल उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया