नेकपा प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आमहड्तालका कारण राजधानीको जनजीवन प्रभावित बनेको छ । राजधानीका चक्रपथ क्षेत्रमा बिहानको समयमा सार्वजनिक यातायातका साधन केही चलेपनि भित्री सडकहरुमा चलेका छैनन् ।
यसैगरी बजार व्यवसाय खुलेका छैनन् भने परीक्षा दिने विद्यार्थीका बसहरू निर्बाध रूपमा सञ्चालन भइरहेका छन् । एम्बुलेन्स, दूध बोक्ने गाडी, प्रेस, शवबहान लगायतका साधन पनि बिना रोकटोक सञ्चालन भइरहेका छन् ।
सुरक्षा व्यवस्था कडा
बन्दकर्ताले गर्नसक्ने अवाञ्छित गतिविधिलाई रोक्न चोकचोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । गृहमन्त्रालयले सुरक्षा व्यवस्था चुस्त पारिएको भन्दै आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न बुधबार नै विज्ञप्तिमार्फत आह्वान गरेको थियो । यो आह्वानका बीच राजधानीमा छिटपुट रुपमा यातायात सञ्चालन भइरहेका छन् ।
यसैबीच राजधानीको सामाखुसीबाट प्रचण्ड–नेपाल पक्षका ५ कार्यकर्ता पक्राउ परेका छन् । जबरजस्ती बन्द गराउँदै हिँडेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रचण्ड नेपाल समूहका राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटाले गोंगबु–सामाखुसीबाट एकाबिहानै मिलन तामाङ, समीर तामाङ, रमेश तामाङ, राज कुमार तामाङ र राजेन्द्र पाण्डेलाई प्रहरीले गिरफ्तार गरेको बताए ।
उनले पक्राउ परेकाहरुलाई तत्काल रिहाइको माग समेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले संवैधानिक निकायमा गरेको नियुक्तिलगायतका विषयमा विरोध गर्दै प्रचण्ड माधव समूहले आमहड्ताल गरेको हो ।