काठमाडौं – राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार (असार २) नियन्त्रणमा लिएको छ ।
राहदानी (पासपोर्ट) छपाइ तथा आपूर्ति प्रक्रियामा अनियमितता प्रकरणमा अनुसन्धानका निम्ति उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जानकारी दिएको छ ।
विभाग पुगेर अख्तियारको टोलीले सम्बन्धित कागजात समेत नियन्त्रणमा लिएको छ । ‘राहदानी छपाइ तथा आपूर्ति ठेक्काको विषयमा सोधपुछका लागि नियन्त्रणमा लिइएको हो,’ अख्तियार स्रोतले बतायो ।
राहदानी विभागको ठेक्का प्रक्रियामा मिलेमतो गरी करोडौँ रुपैयाँको अनियमितता गरिएको भन्दै महानिर्देशक अर्यालविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।
अख्तियारले राहदानी खरिद, छपाइ तथा आपूर्ति प्रक्रियासम्बन्धी कागजात कब्जामा लिएर विस्तृत अनुसन्धान अघि बढाएको स्रोतले जनाएको छ ।