पूर्वप्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री भुसालसहितको टोली मनाङमा

राम्रो अनलाइन     २३ साउन २०७८, शनिबार
पूर्वप्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री भुसालसहितको टोली मनाङमा

मनाङ, २३ साउन : बाढीपहिराले पुर्‍याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन् । 

असार १ गतेको बाढीपहिराले क्षति पुर्‍याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उनीहरु आएका हुन् । जिल्लाका विभिन्न स्थानमा पुर्‍याएको क्षतिको निरीक्षण गरी समाधानको उपाय र आवश्यक सहयोगका लागि उनीहरु मनाङ आएको जनाइएको छ । 

पूर्वप्रधानमन्त्री दाहाल, ऊर्जामन्त्री भुसालसँगै पूर्व मन्त्रीद्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका प्रमुखलगायतको टोलीले मनाङमा बाढीपहिराले क्षति पुर्‍याएका क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ । 

टोलीले मनाङ ङिस्याङ गाउँपालिकाको तिमाङ, चामे गाउँपालिकाको चामे, नासों गाउँपालिकाको दानाक्यु, तिल्चेताललगायतका स्थानको भौतिक क्षति पुगेको संरचनाको अवलोकन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । 

उनीहरुले भौतिक क्षति पुगेको संरचनाको मर्मत तथा सम्भारका सम्बन्धमा सम्बन्धित निकायसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ । 

विद्युत् प्राधिकरण, सिँचाइ, स्वास्थ्य, बस्तीमा पुनर्वासको अवस्थाका बारेमा अवलोकन तथा निरीक्षण र समाधानको उपायका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया