बिराटनगर– निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले अझै पनि निर्वाचन हुँदैन कि भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् । मंगलबार बिराटनगरमा आयोजित निर्वाचन आचारसंहिताबारे मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको रकेट उडिसकेकोले त्यसलाई यताउता गर्नै नसकिने बताए । उनले आयोगले ३० जिल्लाको मतपत्र छापिसकेको, निर्वाचन आचारसंहिता लागू भैसकेको अवस्थामा निर्वाचन सर्ने कुरा सोच्नै नसकिने स्पष्ट पारे ।
३० जिल्लाको त मतपत्र नै छापिइसकेको छ, आजको अवस्थामा जहाज पनि होइन त्यो । एकछिन रोक्न पनि सकिएला, अर्को एयरपोर्टमा लैजान सकिएला, अहिले त निर्वाचनको रकेट प्रक्षेपण भइसकेको अवस्था हो थपलियाले भने, यस्तो बेलामा निर्वाचन भएन भने हामीले होइन, लोकतन्त्रले नै हार्छ ।
निर्वाचनको समयमा मिडियाबाट पनि भ्रामक कुरा आउनसक्ने भएकोले पत्रकारहरूले तथ्यमा रहेर समाचार लेखिदिनु पर्ने बताए । साथै निर्वाचनप्रति जनविश्वास घटाउने जओखिम रहेको र धमिलो पानीमा माछा मार्न सकिन्छ भन्ने प्रवृत्ति बढेको बताए ।
प्रमुख आयुक्त थपलियाले आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितब्ययी निर्वाचन गराउन केन्द्रीत भएको उनले बताए । अघिल्लो स्थानीय तह निर्वाचनबाट ४१ प्रतिशत महिलाको पहुँच कायम भएकोले आयोगको यसपटक त्यसलाई ४५ प्रतिशत पुगोस भन्ने चाहना रहेको बताए ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार र मिडियाहरूले अघिपछिको समयमा भन्दा निर्वाचनको बेलामा आचारसंहिता पालनामा बढी ध्यान दिनुपर्ने सुझाव दिए ।
नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले पार्टीहरूको चुनाव पत्रकारहरूलाई धेरै लाग्ने भन्दै पत्रकारलाई चुनावमा उम्मेदवार हुनबाट जोगाउनै चर्को हुन थालेको बताए ।