प्रदेश २ मा निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर ६० वर्ष कायम

राम्रो अनलाइन     २९ माघ २०७७, बिहिबार

प्रदेश नं २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गरेको छ । प्रदेश प्रमुख तिलक परियारले ऐन प्रमाणिकरण गरेसँगै सो उमेर हद कायम भएको हो ।

अब ६० वर्ष पूरा भएका निजामति कर्मचारी अनिवार्य सेवा अवकाश हुनेछन् ।

यस ऐनबमोजिम अनिवार्य अवकाश वा अन्य प्रयोजनका लागि प्रदेश निजामती कर्मचारीको उमेर गणना गर्दा निजले पेस गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएका जन्म वा वर्षबाट हुन आउने उमेर वा निजको नागरिकताको प्रमाणपत्रमा किटिएको जन्म दिन वा वर्षबाट आउने उमेर वा निजले व्यक्तिगत विवरणमा लेखी दिएको जन्म दिन वा वर्षबाट आउने उमेरमध्ये जुन उमेरबाट पहिले अवकाश हुन्छ सोही आधारमा गणना गरिने उल्लेख छ ।

त्यस्तै निवृत्तभरण पाउने अवस्था र उमेरको हद त्रिपन्न वर्ष पूरा भएका प्रदेश निजामती कर्मचारीले प्रदेश सरकारद्वारा प्रदेश राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लेखित शर्तमा स्वेच्छिक अवकाश लिन सक्ने व्यवस्था गरिएको छ । सो ऐनअन्तर्गत प्रदेश नं २ को प्रदेश निजामती सेवामा अधिकृत बाह्रौँ तहदेखि सहायक तेस्रो तहसम्मका कर्मचारी रहने उल्लेख छ ।

मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाका अनुसार सङ्घीयता कार्यान्वयनमा कोसेढुङ्गाका रूपमा रहेको यो प्रदेश निजामती ऐनले प्रदेशलाई स्वायत्त, अधिकार सम्पन्न बनाई विकासको बाटोमा डोर्‍याउन बाटो खुलेको छ ।

प्रतिक्रिया