विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश-१ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावबाट पछि हट्ने भएको छ । माओवादीले पास हुने अवस्था नदेखिएपछि अविश्वास प्रस्ताव फिर्ता लिने तयारी गरेको छ ।
सोमबार दिउँसो २ बजे बस्ने प्रदेश-१ को प्रदेशसभाको सतौं हिउँदे अधिवेशनको चौथो बैठकबाट माओवादी केन्द्रले प्रस्ताव फिर्ता लिने तयारी छ ।
गत पुस १२ गते तत्कालीन नेकपाको माधव नेपाल र पुष्पकमल दाहाल समूहका ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर सर्वोच्च अदालतले माओवादी केन्द्र र एमालेलाई पुरानै अवस्थामा फर्काइदिएपछि चैत १७ गते माधव नेपाल समूहले प्रस्ताव फिर्ता लिएको थियो ।
अविश्वासको प्रस्ताव पास नहुने अवस्था आएपछि माओवादी केन्द्रले बैठकबाट नै फिर्ता लिने निष्कर्षमा पुगेको हो । माओवादीका नवनियुक्त संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सोमबार बस्ने बैठकमा प्रस्तावक र समर्थकले सम्बोधन गरेर प्रस्ताव फिर्ता गर्ने घोषणा गर्ने बताए ।
गत पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता भएपछि माघ ७ गते सातौं हिउँदे अधिवेशन आह्वान गरिएको थियो । तर सत्तापक्षीय दलभित्रको विवादका कारण बैठक बस्न सकेको थिएन ।
गत पुस १२ गते दर्ता भएको प्रस्तावमा माधव नेपाल समूहका २२ र दाहाल समूहका १५ जनाले हस्ताक्षर गराएका थिए ।