विराटनगर । नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने भएको छ । प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिन नेपाल समूह सहमत भएपछि प्रदेश १ प्रदेशसभाको बैठक चैत २३ गते बोलाइएको छ ।
गत चैत १ गते सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित भएको बैठक चैत २३ गतेका लागि आह्वान भएको हो । एमाले सांसद भिम आचार्यले चैत २३ को बैठकअघि नै अविश्वास प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिने जानकारी दिए । ‘हामीले हस्ताक्षर फिर्ता लिने भनेका छौं तर लिइसकेका छैनौं,’ उनले भने, ‘बैठक अघि सामूहिक रुपमा हस्ताक्षर फिर्ता हुन्छ ।’
बुधबार मुख्यमन्त्री शेरधन राईले आफ्नो पार्टीका सांसदलाई सात दिन भित्र अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएका थिए ।
प्रदेश १ को हिउँदे अधिवेशन गत माघ ७ गते शुरु भए पनि सत्तापक्षको अवरोधका कारण बैठक बस्न सकेको छैन ।
सत्ता पक्षको बहिस्कारकाबीच गत पुस १२ गते तत्कालिन नेकपाको दाहाल–नेपाल समूहले दर्ता गराएको अविश्वासको प्रस्ताव फागुन ९ गते संसदमा टेबल भएको थियो । प्रस्तावमाथि छलफल गर्न २० फागुनमा बैठक आह्वान गरिए पनि सभामुख प्रदीपकुमार भण्डारीले फागुन १९ गते सूचना जारी गर्दै चैत २ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि चैत १ गते बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
यसबीचमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमाथिको हस्तक्षर फिर्ता लिन एमाले सांसदहरुलाई निर्देशन दिएका थिए । एमालेको नेपाल पक्षले अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएपछि मुख्यमन्त्री राईविरुद्ध तत्कालिन प्रचण्ड–माधव समूहले दर्ता गराएको अविश्वासको प्रस्ताव असफल हुनेछ । प्रदेशसभाका ९३ सासदमध्ये नेकपा एमालेसँग ५१ जना सदस्य छन् ।
माओवादी केन्द्र, कांग्रेस र अन्य तीन साना दलसँग जम्मा ४२ मत छ ।