प्रायश्ना गुरुङ बनिन् मिस युनिभर्स नेपाल २०२६

राम्रो अनलाइन     १३ असोज २०८३, मङ्गलबार
प्रायश्ना गुरुङ बनिन् मिस युनिभर्स नेपाल २०२६

काठमाडौं–भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६ मा काठमाडौंस्थित द सोल्टी काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा उपाधि हात पारेकी हुन्।

प्रतियोगितामा देश तथा विदेशमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै १४ जना फाइनलिस्ट सहभागी थिए। विभिन्न चरण पार गर्दै गुरुङले निर्णायक चरणमा उत्कृष्ट प्रदर्शन गरेपछि मिस युनिभर्स नेपाल २०२६ को ताज पहिरिन सफल भएकी हुन्।

गुरुङले आगामी नोभेम्बर २४, २०२६ मा प्युर्टो रिकोमा आयोजना हुने मिस युनिभर्स २०२६ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको संस्कृति, पर्यटन, कला तथा विविधताको प्रतिनिधित्व गर्ने अवसरसमेत उनले प्राप्त गरेकी छन्।

यसैगरी झापाकी बिनिता ओली ले ‘मिस अर्थ नेपाल २०२६’ को उपाधि जितेकी छन्। वातावरण संरक्षण तथा दिगो विकासका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने मिस अर्थ नेपालको अभियानमा ओलीले नेपालको प्रतिनिधित्व गर्नेछिन्।

द सोल्टी काठमाडौंमा आयोजित प्रतियोगिताको ग्रान्ड फिनालेमा भारतीय अभिनेत्री तथा पूर्व मिस युनिभर्स प्रतिस्पर्धी सेलिना जेट्ली प्रमुख निर्णायकका रूपमा सहभागी थिइन्। प्रतियोगिताले नेपाली युवतीहरूलाई अन्तर्राष्ट्रिय सौन्दर्य तथा सामाजिक अभियानका मञ्चमा अघि बढाउने उद्देश्य राखेको आयोजकले जनाएको छ।

मिस युनिभर्स नेपाल २०२६ को उपाधिसँगै प्रायश्ना गुरुङको अन्तर्राष्ट्रिय यात्रा सुरु भएको छ। आगामी मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उनले विश्वभरका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नेछिन्।

प्रतिक्रिया