फुटबल सम्राट पेलेको निधन

एजेन्सी     १५ पुस २०७९, शुक्रबार
फुटबल सम्राट पेलेको निधन

साओ पाउलो–तीन पटकको विश्वकप विजेता ब्राजिलका फुटबल खेलाडी पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको छ । साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालले एक विज्ञप्ति जारी गर्दै क्यान्सरसँग लामो संघर्षपछि उनको मृत्यु ‘मल्टिपल अर्गन फेलियर’ का कारण भएको जनाएको छ ।

सन् १९९८ मा पूर्वी फ्रान्सको नान्सी स्टेडियममा विश्वप्रसिद्ध खेलाडीहरू अर्जेन्टिनाका डियगो म्याराडोना (बायाँ)‚ ब्राजिलका पेले (बीचमा) र फ्रान्सका मिसेल प्लाटिनी । अर्जेन्टिनाका म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको थियो । तस्बिर : एपी/रासस

हामी तिमीलाई असीम प्रेम गरिरहनेछौँ, पेलेकी छोरी केली नासिमेन्टोले इन्स्टाग्राममा लेखेकी छिन् । उनको पूर्व टोलीका साथीहरूदेखि वर्तमान् फुटबल स्टारहरूसम्मले उनको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गरेका छन् । पेलेले लामो व्यावसायिक जीवनको दौडान फुटबल खेललाई नै रूपान्तरण गरेका थिए । 

ब्राजिलका स्टार नेयमारले पेलेप्रति सम्मान व्यक्त गर्दै ‘फुटबललाई कलामा परिणत गरेको’ बताएका छन् । फ्रान्सका केलियन एमबाप्पेले उनको विरासतलाई ’कहिल्यै नबिर्सने’ बताएका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले उनलाई ’लाखौंका लागि प्रेरणा’ भनेका छन् । अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेस्सीले सामाजिक सञ्जालमा पेलेको आत्मको शान्तिका लागि प्रार्थना गरेका छन् । 

सन् २०१५ अप्रिल १७ मा न्युयोर्क कसमसमा फुटबलका विश्वप्रसिद्ध खेलाडी पेले (बायाँ) र फ्रान्ज बेकनबावेर । तस्बिर : एएफपी/रासस

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले महान् फुटबलरको निधनपछि तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् भने नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले ट्वीट गर्दै पेलेले राष्ट्रधका लागि सन् १९५८, १९६२ र १९७० मा तीन पटक विश्वकप जिताएको स्मरण गर्दै उनीप्रति श्रद्धा व्यक्त गरेका छन् । 

मृगौलाको समस्या र कोलोन क्यान्सरसँग जुधिरहेका उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सन् २०२१ को सेप्टेम्बरमा उनको शल्यक्रिया गरिएको थियो भने त्यसपछि केमोथेरापी गरिँदै आएको थियो ।

पेलेको पूर्व क्लबकाअनुसार सोमबार क्रिश्चियन परम्परा अनुसार ‘वेक हुनेछ र त्यसपछि मङ्गलबार दक्षिणपूर्वी शहर सान्तोसमा अन्त्येष्टि हुनेछ । पेलेले आफ्नो क्यारियरको अधिकांश समय सान्तोसमा खेलेर बिताएका थिए ।

महान् फुटबलर पेलेका समर्थकहरूले फूलहरू चढाउन सान्तोसस्थित रङ्गशालामा भेला भएका छन् भने शहरमा सात दिनको शोकको घोषणा गरिएको छ । 

सन् २०१२ जनवरी ९ मा पेलेको हातबाट फिफप्रो वर्ल्ड-११ अवार्ड लिँदै अर्जेन्टिनाका फर्वार्ड लियोनल मेसी (बायाँ) । तस्बिर : एएफपी/रासस

उनी तीन पटक विश्वकप फुटबल उपाधि जित्न सफल एक मात्र खेलाडी थिए। गत नोभेम्बर महिनामा अस्पतालबाट बोल्दै उनले आफ्ना प्रशंसक र दीर्घायुका लागि ईश्वरलाई धन्यवाद दिएका थिए । उनको जन्म सन् १९४० मा दक्षिणपूर्वी ब्रजिलमा एउटा गरिब परिवारमा भएको थियो । तर उनले आफ्नो प्रतिभा र अद्भूत क्षमताका कारण फुटबल जगत्मा अमर रहने छन् । 

सन् १९७८ अगस्ट ३ मा अमेरिकाको न्युयोर्क सहरमा भएको प्रेस कन्फेरेन्समा पेले (बायाँ)‚ कसमस टिम क्याप्टेन वार्नर रोथ (बीचमा) र डच सुपरस्टार जोहन क्रुफ । एपी/रासस

सन् २०१२ जनवरी ९ मा जुरिकमा आयोजित फिफा बालोन डिओर अवार्डको कार्यक्रममा अर्जेन्टिनाका फर्वार्ड लियोनल मेसी (बायाँ)‚ ब्राजिलियन फर्वार्ड पेले (बीचमा) र ब्राजिलियन फर्वार्ड नेयमार (दायाँ) । तस्बिर : एएफपी/रासस

सन् १९७४ डिसेम्बर ६ मा थाइल्यान्डमा किशोरहरूलाई फुटबल सिकाउँदै पेले । तस्बिर : एएफपी/रासस

सन् १९६३ अप्रिलमा ब्राजिल र फ्रान्सको फुटबल प्रतियोगिताबीच रेफ्रीको भनाइ सुन्दै पेले । तस्बिर : एएफपी/रासस

पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो (बायाँ) लाई स्विट्जरल्यान्डको जुरिकस्थित ओपेरा हाउसमा फिफा वर्ल्ड प्लेयर गाला २००८ अन्तर्गत फिफा वर्ल्ड प्लेयर अफ द इयरको ट्रफी प्रदान गर्दै विश्वप्रसिद्ध फुटबल खेलाडी पेले । तस्बिर : एपी/रासस

सन् २०१० डिसेम्बर २२ मा ब्राजिलको रियो दि जेनेरियोमा च्याम्पियन मेडल देखाउँदै विश्वप्रसिद्ध खेलाडी एडसन अरान्टेस दो नासिमेन्टो अर्थात् पेले । एएफपी/रासस

सन् १९७१ मार्च ३० मा आफ्ना फ्यानलाई जुल्स रिमेट कप देखाउँदै ब्राजिलका फर्वार्ड पेले । उनले आफ्नो खेल जीवनमा ३ पटकसम्म विश्वकप फुटबलको उपाधि जितेका थिए । तस्बिर : एएफपी/रासस

क्यान्नसको क्रोइसे एभिन्यूमा फुटबल खेल्दै पेले । तस्बिर : एएफपी/रासस

प्रतिक्रिया