एसएसपी हुँदादेखि नै मैले आईजीपी देखेको व्यक्ति : मनोज केसीलाई हार्दिक बधाई तथा शुभकामना !

गुरु केदार बराल     १८ कात्तिक २०८३, बुधबार
एसएसपी हुँदादेखि नै मैले आईजीपी देखेको व्यक्ति : मनोज केसीलाई हार्दिक बधाई तथा शुभकामना !

मनोज केसी एसएसपी हुनुहुँदाकै समयदेखि उहाँसँग मेरो चिनजान, निरन्तर संवाद र घण्टौँसम्म विचारविमर्श गर्ने अवसर मिलेको थियो। त्यतिबेला उहाँलाई अघिल्लो सरकारले अप्ठ्यारोमा पार्न खोजेको परिस्थिति पनि थियो। त्यसै समयमा मैले उहाँको कुण्डली र विशेषगरी गृहदशा अध्ययन गर्ने अवसर पाएको थिएँ।

त्यतिबेला नै उहाँलाई मैले भनेको थिएँ–तपाईंको ग्रहदशाले उच्च पदको संकेत गर्छ। तपाईं आईजीपी बन्ने व्यक्ति हुनुहुन्छ, आफ्नो लक्ष्यबाट पछि नहट्नुहोस्, निरन्तर लागिरहनुहोस्। त्यो समयदेखि नै उहाँलाई हौसला र प्रेरणा दिने गरेको थिएँ।

उहाँसँग भएका मेरा लामो संवादमा नेपाल प्रहरीको सुधार, प्रहरी प्रशासनको रूपान्तरण र तल्लो तहका प्रहरी कर्मचारीको जीवनस्तरबारे धेरै कुरा भएका थिए। उहाँका विचार र मेरा केही महत्त्वपूर्ण सुझावहरू पनि मिल्थे।

मेरो स्पष्ट धारणा थियो–प्रहरी संगठनको सबैभन्दा ठूलो शक्ति प्रहरी जवान हुन्। तपाईंका लागि प्रहरी जवान आफ्नै सन्तानसरह हुन्। उनीहरूको जीवनस्तर उठाउने, सम्मानजनक जीवनयापनको वातावरण बनाउने, छोराछोरीलाई गुणस्तरीय शिक्षा र परिवारलाई राम्रो स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई पहिलो प्राथमिकता दिनुपर्छ।

आज उहाँको कुण्डलीमा देखिएका केन्द्रगत ग्रहयोग र सम्माननीय प्रधानमन्त्रीज्यूको कुण्डलीसँग देखिने ग्रहगत सामञ्जस्यलाई हेर्दा देशको प्रशासनिक र सुरक्षा संयन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने सम्भावना देख्छु।

मैले पहिले उहाँसँग गरेको कुराकानी र सुधारका लागि राखेका सुझावहरू अब व्यवहारमा उतारेर देखाउने समय आएको छ। नेपाल प्रहरीको मुहार फेर्ने, प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउने र जवानदेखि उच्च नेतृत्वसम्म सबैले गर्व गर्न सक्ने संगठन निर्माण गर्ने ठूलो अवसर उहाँको हातमा आएको छ।

आईजीपी हुनु पद प्राप्त गर्नु मात्र होइन, हजारौँ प्रहरी कर्मचारीको भविष्य निर्माण गर्ने जिम्मेवारी पनि हो।

मनोज केसीज्यूलाई नयाँ जिम्मेवारीका लागि हार्दिक बधाई तथा सफल, निष्पक्ष र ऐतिहासिक कार्यकालको शुभकामना!

प्रतिक्रिया