फोहरमा नवजात शिशुको शव

राम्रो अनलाइन     ०३ माघ २०८०, बुधबार
फोहरमा नवजात शिशुको शव


उदयपुर–उदयपुरको कटारी नगरपालिका–३ राजावासमा रहेको फोहर विसर्जनस्थल (डम्पिङसाइट) मा फालिएको फोहरमा नवजात शिशुको शव फेला परेको छ । फोहर सङ्कलन गरी फोहर छुट्याउने क्रममा कामदारले फोहरसँगै फालिएको फोहर कपडाभित्र शिशुको शव देखेको वडासदस्य पष्पु खाँले बताए । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय देव ढुङ्गेलले बताए । वडासदस्य खाँका अनुसार आजै बिहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्र्याक्टरले सङ्कलन गरी लगेर फालेको फोहरमा शव भेटिएको हो ।

शवलाई प्रहरीले कटारी अस्पतालमा लगेर राखेको छ । ‘आजै उठाइएको फोहरमा शव रहेछ’, वडासदस्य खाँले भने, ‘नगरपालिकाको ट्र्याक्टरमा शवलाई अस्पताल ल्याइएको छ ।’ इलाका प्रहरी कार्यालय कटारीले शव भेटिएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ । महिना पुगिसकेको जस्तो देखिने कपाललगायतका अङ्ग बनिसकेको मृत नवजात शिशुको शव भेटिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया