फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल

राम्रो अनलाइन     १७ कात्तिक २०८२, सोमबार
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल

काठमाडौँ–राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताएका छन् । सो निर्वाचनलाई सफल बनाउन उनले सबैलाई आग्रह गरेका छन्। 

कतारको दोहास्थित नेपाली राजदूतावासमा आज आयोजित स्वागत कार्यक्रममा सरिक हुने क्रममा सम्बोधन गर्दै उनले यो निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्त्वपूर्ण हुने पनि बताएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए।

युवा पुस्ताले भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र नेपाली युवाहरूले विदेशिनु पर्ने अवस्थाको अन्त्यका लागि आन्दोलन गरेको तर यो तापमा रोटी सेकाउन खोज्नेहरू असफल भएकाले संविधान र प्रणाली जोगाउन सकिएको पनि राष्ट्रपति पौडेलले बताए। उनले संसारका अन्य देशमा युवाको आन्दोलनले ल्याएको आँधीबेरीको समाधान निकाल्न कठिन भए पनि नेपालमा प्रणाली र संविधान जोगाएर राजनीतिलाई सुरक्षित अवतरण गराउन सकिएको उल्लेख गरे।

कतारको विकास, उन्नति र प्रविधिबाट लिएको अनुभवलाई नेपालको विकासमा लगाउन राष्ट्रपति पौडेलले नेपाली समुदायलाई आग्रह गरे।

कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज नै त्यहाँ पुगेका राष्ट्रपति पौडेल र प्रथम महिला सबिता पौडेलसहितको नेपाली प्रतिनिधिमण्डललाई कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेल, उच्चपदस्थ कर्मचारी, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले स्वागत गरेका थिए । उनी सम्मेलनका लागि कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुगेका हुन्।

सो अवसरमा राजदूत पौडेलले कतारमा रहेका नेपाली श्रमिकहरूका बारेमा जानकारी गराएका थिए। राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम छ । साथै, उनले सो सम्मेलनका अवसरमा कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्ने जनाइएको छ ।

यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल हुने बताइएको छ ।

सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध रहिआएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने छन् 

प्रतिक्रिया