पछुताउँदै दीपिका, अनुष्काले बनाइन् नयाँ साथी

एजेन्सी     १९ माघ २०७७, सोमबार
पछुताउँदै दीपिका, अनुष्काले बनाइन् नयाँ साथी

नाच्न नजान्ने प्रियंका


बलिउडदेखि हलिउडसम्म प्रख्यात रहेकी अभिनेत्री प्रियंका चोपडाले एक पटक डान्स स्टेप नआउँदा गाली खानुपरेको बताएकी थिइन् । एक अन्तर्वार्तामा प्रियंकाले यस घटनाबारे बताएकी थिइन् । कुरा फिल्म ‘अन्दाज’ को हो । फिल्मको सुुटिङ दक्षिण अफ्रिकामा हुँदै थियो । फिल्ममा हिरो थिए, अक्षय कुमार । ‘रोमान्टिक सिन थियो,’ अन्तर्वार्तामा प्रियंकाले भनेकी थिइन्, ‘एकै पटक धेरै कुरामा फोकस गर्नुपर्ने थियो । ४० टेक दिइसकेकी थिएँ । तैपनि, डान्सको स्टेप ठीक तरिकाले भइरहेको थिएन ।’ त्यतिखेर कोरियोग्राफर थिए, सरोज खानका छोरा राजु खान । ‘राजुले रिसाएर माइक फ्याँकिदिए,’ प्रियंकाले सम्झिइन्, ‘ उनले ‘पहिले स्टेप सिक, त्यसपछि आउनू’ भने । ‘मिस वल्र्ड हुँदैमा अभिनेत्री बन्न सकिन्छ भन्ने भ्रम नपाले हुन्छ’ पनि भनेका थिए ।’ त्यस बेला अक्षय कुमारकी श्रीमती ट्वींकल खन्नाले बच्चा जन्माउने समय नजिकिँदै थियो । सुटिङको समय घटाएर सबै जना भारत फर्किए । भारत फर्किएपछि प्रियंकाले वीरु कृष्णनसँग नृत्य सिकिन् । हरेक दिन छ घण्टा उनी नृत्य अभ्यास गर्थिन् ।


पछुताउँदै दीपिका

अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोइडको हत्यापछि सामाजिक सञ्जालमा ‘ब्ल्याक लाइभ्ज म्याटर’ ट्रेन्ड चल्यो । भारतमा पनि यो ट्रेन्डले गति लियो । केही बलिउड सेलिब्रिटी पनि विरोधमा उत्रिए । अभियानको समर्थनमा रहेका केही सेलिब्रिटीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले नराम्ररी कुरा सुनाएका छन् । सोसल मिडिया प्रयोगकर्ताले सेलिब्रिटीले फेयरनेस क्रिमलगायत विभिन्न गोरो बनाउने सौन्दर्य सामग्रीको प्रचार गरेको आरोप लगाएका छन् । यस आलोचनापछि अभिनेत्री दीपिका पादुकोणले आफूले गरेको केही विज्ञापनप्रति खेद प्रकट गरेकी छिन् । दीपिका पनि फेयरनेस क्रिम र कोला ब्रान्डसँग आबद्ध थिइन् । आफूले ब्रान्ड छनोट गर्दा गल्ती गरेको उनले स्वीकार गरेकी छिन् । त्यसका लागि उनी पछुतो मानिरहेकी छिन् । उनले आफूलाई ती ब्रान्डबाट अलग गरिसकेको जनाएकी छिन् ।


अनुष्काको नयाँ साथी

लकडाउनमा घरबन्दीमा परेकी अभिनेत्री अनुष्का शर्मा अहिले श्रीमान् विराट कोहलीसँग समय बिताइरहेकी छिन् । बेला–बेलामा उनले कोरोना भाइरसप्रति सचेत गराउने खालका भिडियो सेयर गर्ने गरेकी छिन् । हालै, उनले आफूले घरभित्रै केही साथी बनाएको बताएकी छिन् । आफ्नो इन्स्टाग्राम अकाउन्टमा फोटो सेयर गरेकी छिन् । फोटोमा उनी बोटबिरुवासँग छिन् । अनुष्का प्रकृतिप्रेमी हुन् । उनले आफ्नो घरमा फूल रोपिएका थुप्रै गमला राखेकी छिन् । तिनको नियमित हेरचाह पनि गर्छिन् । ती बोटबिरुवा आफ्ना साथी बनेका उनले बताएकी छिन् । इन्स्टाग्राममा तस्बिर राखेर उनले क्याप्सन लेखेकी छिन्– ‘म र मेरा साथी ।’

प्रतिक्रिया