ओपनएआईले आफ्नै एआई चिप निर्माण गर्ने  

एजेन्सी     २० असोज २०८०, शनिबार
ओपनएआईले आफ्नै एआई चिप निर्माण गर्ने  


काठमाडौँ— च्याटजीपीटी लगायत विभिन्न चर्चित आर्टिफिसियल इन्टेलिजेन्स प्लाटफर्महरूको निर्माता कम्पनी ओपनएआईले आफ्नै एआई चिप निर्माण गर्ने पहल थालेको छ । एडभान्स्ड चिप बजारमा भएको अभाव समाधानका लागि ओपनएआईले उत्पादकर्ता कम्पनीहरू खाका बनाइ ती कम्पनी खरिद गर्ने योजना बनाएको छ । 

यस विषयमा जानकार स्रोतलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले प्रकाशित गरेको एक रिपोर्टअनुसार ओपनएआईले कुनै कम्पनी खरिद वा कुनै अर्को उत्पादकसँग साझेदारीमा चिप निर्माण गर्ने भन्ने अन्तिम निर्णय भने गरिसकेको छैन । कम्पनीका प्रमुख साम अल्टम्यानले सार्वजनिक कार्यक्रममा च्याटजीपीटीजस्ता एआई प्लाटफर्म पूर्णरूपमा निर्भर रहने एड्भान्सड चिपहरूको अभावका बारेमा बोल्ने गरेका छन् ।

अहिले ओपनएआईसँग उपलब्ध विकल्पहरूमा प्रमुख चिप निर्माता कम्पनी एनभिडियासँग साझेदारी गर्ने पनि एक रहेको छ । एनभिडियाले एआई प्लाटफर्महरूका लागि आवश्यक पर्ने चिपहरूमध्ये झन्डै ८० प्रतिशत बजार हिस्सा ओगटेको छ । विश्व बजारमा एआई प्लाटफर्म र सफ्टवेयर निर्माणमा आएको उल्लेख्य वृद्धि र अमेरिका–चीन चिप तनावका कारण खलबलिएको आपूर्ति संयन्त्रले गर्दा यस्ता चिपहरूमा निर्भर रहने ओपनएआईजस्ता कम्पनीहरूले कठिनाईको सामना गर्दै आएका छन् ।

ओपनएआईजस्ता प्रमुख कम्पनीले प्रयोग गर्ने एनभिडिया ए १०० जीपीयुजस्ता एउटै एआई चिपको ४० हजार डलर हाराहारीमा पर्ने भएकाले पनि च्याटजीपीटी निर्माताहरूले विकल्प खोज्न सुरू गरेको अनुमान विज्ञहरूको छ । सन् २०२० यता माइक्रोसफ्टको सहयोगमा आफ्नै जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स सहितको सुपरकम्प्युटर निर्माण गरेको ओपनएआईले सो क्रममा झन्डै १० हजारभन्दा बढी अत्यन्तै महँगो जीपीयु चिपहरूको प्रयोग गरेको थियो ।

बर्नस्टेन एनालिस्ट स्टेसी रास्गनले गरेको एक अध्ययनमा च्याटजीपीटीमा आउने एक प्रश्नको उत्तर दिन कम्पनीको अमेरिकी ४ सेन्ट (पैसा) खर्च हुने देखिएको थियो । यो हिसाबले ओपनएआईजस्ता कम्पनी चलाउन निकै महँगो रहेको देखिन्छ । गुगलले सामना गर्ने प्रश्नहरूमध्ये दस भागको एक भाग मात्रै पनि च्याटजीपीटीमा आउने हो । त्यसका लागि आवश्यक पूर्वाधार बनाउन ओपनएआईले सुरूमा ४८ अर्ब अमेरिकी डलरको त चिप मात्रै खरिद गर्नुपर्ने र वार्षिक झन्डै १६ अर्ब अमेरिकी डलरको जीपीयु चिप चाहिने अध्ययनहरूले देखाएका छन् ।

एआई चिपहरूको बढ्दो लागत र बजारमा दोहोरिने अभाव हेर्दै गुगल, अमेजनजस्ता ठूला कम्पनीहरूले पनि कस्टम चिपको डिजाइन र उत्पादनको पहल सुरू गरिसकेका छन् । मेसिन लर्निङ, क्लाउड गेमिङ, हाइ पर्फरमेन्स कम्प्युटिङ र जेनेरेटिभ एआई प्रविधिमा भएको पछिल्लो उछालले सन् २०३२ सम्ममा एडभान्स्ड जीपीयुको विश्वव्यापी बजार ७७३ अर्ब अमेरिकी डलरको हुने अनुमानहरू सार्वजनिक भएका छन् । अमेरिका र चीनसँगै विभिन्न देशहरू घोषित रूपमै उन्नत चिपहरूको विकास र नियन्त्रणको प्रतिस्पर्धामा छन् भने भूराजनीतिको चपेटामा परेका ओपनएआईजस्ता सिलिकन भ्याली कम्पनीहरू आफ्नै चिप निर्माण गर्ने उपायको खोजीमा लागेका छन् ।

प्रतिक्रिया