ओलीले बोलाएको एमाले केन्द्रीय समिति बैठकमा नेपाल समूह नजाने 

महाधिवेशन आयोजक समिति विधानविपरीत भएको भनाइ
राम्रो अनलाइन     ०६ वैशाख २०७८, सोमबार
ओलीले बोलाएको एमाले केन्द्रीय समिति बैठकमा नेपाल समूह नजाने 

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा बोलाएको पार्टी केन्द्रीय समिति बैठकमा नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह सहभागी नहुने भएको छ ।

विधानविपरीत काम गरिरहेका ओलीले डाकेको बैठकमा आफूहरू सहभागी नहुने नेपाल समूहका नेताहरूले बताएका छन् । नेपाल समूहमा लागेका सचिव भीम आचार्यले आफूहरू बैठकमा सहभागी नहुने नष्किर्षमा पुगेको जानकारी दिए । 

ओलीले महाधिवेशन आयोजक समितिको भनेर बैठक बोलाएका छन् । तर, नेपाल समूहले महाधिवेशन आयोजक समिति बनाउने कार्य विधानविपरीत गरिएका् आरोप लगाउँदै आएको छ । त्यही भएर विधान विपरीत बनाइएको समितिको बैठकमा आफूहरू सहभागी नहुने आचार्यले बताए । 

पछिल्लो समय एमालेमा आन्तरिक विवाद चुलिएको छ। कर्णाली प्रदेशमा नेपाल पक्षका चार जना सांसदहरूले फ्लोर क्रस गरेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सत्ता जोगाइदिएपछि ओली समूह क्रुद्ध बनेको छ। नेपाल समूहले भने कर्णालीको घटना अरू प्रदेश र केन्द्रमा पनि दोहोरिन सक्ने  बताएको छ। 

केही समयअघि अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षीय केही नेताहरूलाई पार्टीबाट निलम्बन गरेका थिए। 

अध्यक्ष ओलीले गत फागुन २३ गतेपछि एकलौटी रूपमा गरेका निर्णय खारेजी माग गर्दै खनाल नेपाल समूहले  आइतबार निर्वाचन आयोगमा पत्र बुझाएको छ।

अध्यक्ष ओलीले विधानविपरीत निर्णय गरेको र त्यो खारेजयोग्य भएको भन्दै ८ पाने पत्र बुझाएको हो। आयोगमा पत्र बुझाउन आइतबार नेताहरु बेदुराम भुसाल र राजेन्द्र पाण्डे पुगेका थिए। 

प्रतिक्रिया