ओलीलाई विश्वासको मत पुग्न नदिन कांग्रेस दलीय वार्तामा

अब बहुमत पुग्न नदिने गरी सबैदलसँग छलफल गर्ने संस्थागत निर्णय गर्ने
राम्रो अनलाइन     २१ वैशाख २०७८, मङ्गलबार
ओलीलाई विश्वासको मत पुग्न नदिन कांग्रेस दलीय वार्तामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ बैशाखमा विश्वासको मत लिन प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले त्यससम्बन्धमा कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति बनाउन लागेको छ । कांग्रेसले त्यसबारे छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ ।

दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको कांग्रेस प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । बैठकले ओलीलाई विश्वासको मत पुग्न नदिन अन्य दलसँग छलफल गर्ने निर्णय गर्नेछ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा माओवादीका चार सांसदको पार्टी छोडेर एमाले प्रवेश गरेपछि पद खारेज भएको छ । यसबाट अब प्रतिनिधिसभा २७१ सदस्यीय छ ।

निलम्बित सांसद सभामा भाग लिन नपाउने भए पनि संख्या गनिन्छ । तसर्थ ओलीलाई विश्वासको मत पुर्याउन २७१ को बहुमत संख्या १३६ सांसद आवश्यक पर्छ ।

अहिले एमालेसाँ १२१ सिट छ । माओवादीसँग ४९, कांग्रेससँग ६१ (निलम्बित बाहेक) र जनता समाजवादी पार्टीसँग ३२(निलम्बित बाहेक) सांसद छन् । माओवादीले अहिलेसम्म प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता नलिएकाले बहुमतमै छन् ।

कांग्रेसले माओवादीले समर्थन फिर्ता लिने निश्चित भएको भन्दै अब बहुमत पुग्न नदिने गरी सबैदलसँग छलफल गर्ने संस्थागत निर्णय गर्ने कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए ।

सत्तारुढ दल एमालेभित्र नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह असन्तुष्ट रहेकाले उनीहरूसँग, माओवादी र जसपासँग छलफल गरेर बहुमत पुग्न नदिन भरमग्दुर प्रयास गर्ने साउदले बताए । जसपामा पनि ओलीलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा मतैक्यता छैन ।

अध्यक्ष महन्थ ठाकुर पक्ष ओलीलाई सहयोग गर्ने र उपेन्द्र यादव पक्ष सहयोग गर्न नहुने पक्षमा छ । कांग्रेसले एमालेलाई एक ढिक्का हुन नदिने रणनीति बन्ने प्रयास गर्ने नेताहरू बताउँछन् । 
 

प्रतिक्रिया