नवनियुक्त श्रममन्त्री भण्डारी भन्नछन् : द्वन्द्व व्यवस्थापन गर्न सघाउँछु

राम्रो अनलाइन     २६ मंसिर २०८२, शुक्रबार
नवनियुक्त श्रममन्त्री भण्डारी भन्नछन्  : द्वन्द्व व्यवस्थापन गर्न सघाउँछु

काठमाडौँ–नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आफ्नो योग्यता र क्षमताअनुसार मुलुकको द्वन्द्व व्यवस्थापन गर्न सक्रिय हुने बताएका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पदको शपथग्रहण गरेपश्चात मन्त्री भण्डारी सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पदबहाली गरेका छन्।

पदवहालीपश्चात पत्रकारमाझ उनले सरकारको कार्यावधि निकै छोटो भए पनि एक दिनलाई एक घण्टाको द्रुतगतिमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्री भण्डारीले आफू लामो समय सिआइबीको संस्थापक भएर काम गरेको हुँदा सङ्गठित अपराधका गतिविधिको जालो तोड्न कार्ययोजना बनाउने बताए । 

“प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु पनि छ”, मन्त्री भण्डारीले भने, “अब भने हरेक प्रहरी दमनकारी हुँदैन र हरेक जेनजी विध्वंशकारी हुँदैन भनेर महसुस गराउनु छ ।” उनका अनुसार जेनजीको पीडा जति छ, नेपाल प्रहरीको पनि उत्तिकै छ ।  दुवै पक्षले क्षति व्यहोर्नुपरेको र दुवै आवाजलाई मन्त्रिपरिषद्मा लिएर जान सकिने पनि उनले सुनाए।

प्रहरी सेवाबाट अवकाश भएको करिब एक दशकपछि उनी मन्त्री बनेका हुन्। अवकाश अवधिमा लेख, रचना लेख्ने, पठनपाठनमा सक्रिय भएका उनले अब भने श्रम मन्त्रालयमार्फत जनता र मुलुकको सेवा गर्ने बताए।

प्रतिक्रिया