निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक हो : अर्थमन्त्री डा. महत 

राम्रो अनलाइन     २७ भदौ २०८०, बुधबार
निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक हो : अर्थमन्त्री डा. महत 

 

काठमाडौं–अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक भएको बताएका छन् । मङ्गलबार  काठमाडौँमा १५ औँ संस्करणको नाडा अटो सो, २०२३ उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।

उनले हरेक नागरिकको क्षमता, सिर्जना, सम्भावना र उद्यमशीलताको पूर्ण उपयोगिताबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव रहेको भन्दै त्यो पनि निजी क्षेत्रले गर्नसक्ने बताए । उनले शिक्षा, स्वास्थ्य र सामाजिक न्याय बाहेक अन्य गतिविधिमा आर्थिक उपार्जन गर्न निजी क्षेत्रको अहम् भूमिका हुने उल्लेख गरे ।

अर्थमन्त्री महतले राज्यको निर्णायक भूमिका सरकारसँग भएका साधन स्रोत प्रयोग गरी ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकास्नुभएको बताए। उनले सरकारले निजी क्षेत्रलाई उच्च महत्त्व दिइरहेको दाबी गरे । उनले मुलुकको अर्थतन्त्रमा समस्या भए पनि अर्थतन्त्रको समस्या धेरै समय नरहने उल्लेख गरे  ।

‘‘निजी क्षेत्र नै आर्थिक रूपान्तरणको वाहक, इन्जिन हो भन्ने कुरामा विश्वास राख्छ । हरेक नागरिकको क्षमता, सिर्जना, सम्भावना र उद्यमशीलताको पूर्ण उपयोगिताबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव छ । सरकारको जिम्मेवारी सहजकर्ताको भूमिका नियमनकारी, प्रतिस्पर्धी बनाउने, कानुनी राज्य लागू गर्ने र सामाजिक आर्थिक पूर्वाधार निर्माण गर्ने भूमिकामा सामान्यतया निजी क्षेत्र आउन हिचकिचाउँछ । सडक यातायातका कुरामा र न्यूनतम दरमा शिक्षा र स्वास्थ्य प्रदान गर्ने विषय बाहेक अन्य सबै क्षेत्रमा निजी क्षेत्रको भूमिका प्रमुख हो ।,’ अर्थमन्त्री महतले भने, ‘राज्यको निर्णायक भूमिका भनेको राज्यको साधन स्रोत ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकास्नु राज्यको दायित्व हो । सरकारले निजी क्षेत्रको महत्त्वलाई उच्च महत्त्व दिएका छौँ ।’

अर्थमन्त्री महतले मुलुकको आर्थिक गतिविधिहरू बिस्तारै सुधार हुँदै गएको बताए । उनले आर्थिक गतिविधिहरू अगाडि बढ्ने सङ्केतहरू देखापरेको भन्दै पछिल्लो समय मुलुकको बाह्य मुद्राको सञ्चिति सुधार, पर्यटन वृद्धि भएको धारणा राखे। उनले घर जग्गा, शेयर बजार र अटो बजारमा केही समस्या रहेको भन्दै अब बिस्तारै समस्या समाधान हुने विश्वास रहेको उल्लेख गरे । उनले अर्थतन्त्र सहजबाटोमा जाने गरी निजी क्षेत्रले पनि बहस थाल्नु आवश्यक रहेको बताए।

‘मुलुकको अर्थतन्त्रमा समस्या छ भन्ने विषयमा दुई मत छैन । अर्थतन्त्रको समस्या धेरै समय रहँदैन । समस्याहरू कम हुँदै गएका छन् । मुलुकको आर्थिक गतिविधिहरू बिस्तारै अगाडि बढ्छ । आर्थिक गतिविधिहरू अगाडि बढ्ने सङ्केतहरू देखापरेका छन् । मुलुकको बाह्य मुद्राको सञ्चिति सुधारोन्मुख छ । विगतको जस्तो श्रीलङ्काको बाटोमा जाने अवस्था छैन । पर्यटन क्षेत्र अगाडि बढ्छ ।,’ अर्थमन्त्री महतले भने, ‘घर जग्गा, शेयर बजार र अटो बजारमा केही समस्याहरू थिए । जग्गा कित्ताकाटको समस्या समाधान भएको छ । जग्गा कारोबार बिस्तारै बढ्छ । अटोमोवाइलको गतिविधि पनि बढ्छ । अर्थतन्त्र सहजबाटोमा जाने बहस थाल्नुपर्छ । त्यसले आत्मविश्वास पढ्छ । अर्थतन्त्रमा पैसा नभएको होइन । पैसा चल्न सकेको छैन घुम्न जरुरी छ ।’

अर्थमन्त्री महतले पहिले सवारी साधनलाई विलासीताका साधन मान्ने ट्याक्स लगाउने गरिएको भएपनि  अब त्यस्तो सोच्न राख्न आवश्यक नरहेको बताए । उनले पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्दो क्रममा रहेकाले सरकारले यसको प्रयोगमा सहज नीति अङ्गीकार गरिरहेको उल्लेख गरे । उनले मुलुकभित्रै सवारी उत्पादन तथा एसेम्बलिङ गर्नुपर्ने आवश्यक रहेको बताए।

अर्थमन्त्री महतले सवारी उत्पादन तथा एसेम्बलिङ उद्योगका लागि सरकारले सहुलियत तथा प्रोत्साहन गरिरहेकोमा व्यवसायीहरूले यो अवसर सदुपयोग गरेर आर्थिक उत्पादनमा लाग्नुपर्ने बताए। उनले निजी क्षेत्र नियमनकारी निकायहरूको नीतिको कारण समस्या भएको भन्दै नियमनकारी निकायले शेयर बजार, चालु पुँजीकर्जामा विभिन्न सीमाहरू तोक्न आवश्यक नरहेको जिकिर गरे । उनले नियमनकारी निकायहरूले हरेक सानो–सानो विषयमा निर्देशन गर्न आवश्यकता नरहेको भन्दै त्यस्ता निकायहरूले गाइड लाइन मात्रै दिएर निजी क्षेत्रले उठाएका मागहरू सम्बोधन गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘निजी क्षेत्र नियमनकारी निकायहरूको नीतिको कारण समस्यामा छौँ । त्यसमा केही जाहेज आधारहरू पनि मैले देखेको छु । शेयर बजार, चालु पुँजीकर्जामा विभिन्न सीमाहरू तोकेको विषय होस् । सरकार र नियमाक निकायहरूले हरेक सानो–सानो इसुमा निर्देशन गर्ने आवश्यकता छैन । नियमनकारी निकायले गाई लाइन दिने हो । निजी क्षेत्रले उठाएका मागहरू सम्बन्धित क्षेत्रले सम्बोधन गर्नुपर्छ । अटोमोवाइलहरुमा कर कम गर्नु पर्ने कुरा आएको छ । यो विद्युतीय सवारी साधनमार्फत हुन्छ । विद्युतीय सवारी साधनलाई सहज बनाउनका लागि चार्जिङ स्टेसनहरू वृद्धि सरकारले गरिहरेको छ । सार्वजनिक र ढुवानीका सवारी साधनहरूलाई पनि विद्युतीय सवारीको रूपमा लैजानुपर्छ । अटो मोबाइल क्षेत्रमा देखिएका समस्याहरू सामदान गर्न सरकार लाग्छ । अटोमोवाइल डिलर एशोसिएशनलाई उत्पादन एसोसिएसन बनाउन आवश्यक छ ।

अर्थमन्त्री महतले विद्युतीय सवारी साधनमार्फत अटोमोबाइल क्षेत्रको कर कम गर्न सकिने बताए । उनले विद्युतीय सवारी साधनलाई सहज बनाउनका लागि सरकारले चार्जिङ स्टेसनहरू वृद्धि गरिहरेको जानकारी दिए । उनले अब सार्वजनिक र ढुवानीका सवारी साधनहरूलाई पनि विद्युतीय सवारीको रूपमा लैजान आवश्यक रहेको बताए । अर्थमन्त्री महतले अटो मोबाइल क्षेत्रमा देखिएका समस्याहरू सामदान गर्न सरकार तयार रहेको भनाइ व्यक्त गरे ।

प्रतिक्रिया