काठमाडौँ–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आजदेखि राजधानीमा १७ औँ संस्करणको ‘नाडा अटो शो २०२५’ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको भृकुटीमण्डमा आयोजना गरिएको उक्त प्रदर्शनीको आज शुभारम्भ गरे।
मेलाको आकर्षणका रूपमा स्वचालित तथा कृत्रिम बुद्धिमत्ताको नयाँ युगको प्रतिकस्वरुप उन्नत चारपाङ्ग्रे रोबोट र उड्ने कार रहेका छन् । प्रदर्शनीमा १९ वटा चारपाङ्ग्रे सवारीका ‘ब्राण्ड’, १३ हलुका सवारीसाधनका ब्राण्ड, चार वटा दुई पाङ्ग्रे सवारीका ब्राण्ड, पार्टपुर्जाका ३५ वटा कम्पनीले आआफ्ना उत्पादन राखेका छन् ।
यो नेपालको हालसम्मकै ठूलो अटो शो भएको दाबी गरिएको छ । यही भदौ ८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
प्रदर्शनी उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटो मोबाइल क्षेत्रले मुलुकको अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान दिएको बताए। “बैंक तथा वित्तीय संस्थामा प्रशस्त तरलता रहेको, कानुनी र नीतिगत रूपमा लगानीमैत्री वातावरण भएका कारण पनि अबको दुई वर्षभित्र ४० प्रतिशतसम्म सवारीसाधनको बिक्री बढ्ने आकलन छ”, उनले भने।
एसोसिएसनका अध्यक्ष करण चौधरीले अटो शो प्रदर्शनी मात्रै नभएर व्यावसायिक थलोका रूपमा विकास हुँदै गएको बताए। अटो क्षेत्रले रोजगारी सिर्जना र राजस्व सङ्कलनमा ठूलो योगदान दिएको जानकारी दिँदै उनले प्रदर्शनीले वार्षिक रूपमा बिक्री हुने कुल सवारीसाधनको ४० प्रतिशत हिस्सा ओगट्ने बताए।