नेपालसहित नेताले बुझाए स्पष्टिकरण 

राम्रो अनलाइन     १२ चैत २०७७, बिहिबार
नेपालसहित नेताले बुझाए स्पष्टिकरण 

काठमाडौँ, १२ चैत : नेकपा (एमाले) का नेता माधवकुमार नेपालसहित चार नेताले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । एमाले नेताहरू नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ आज दिएको पार्टी मुख्यालयका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । 

यही चैत ७ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टीविपरीतका गतिविधि गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । “चारै नेताको स्पष्टीकरण पत्र प्राप्त भएको छ”, उनले भने, “पत्रका के जवाफ लेख्नुभएको छ हेरिएको छैन ।” यही चैत ८ गते महासचिव ईश्वर पोखरेलले पत्र लेख्दै उनीहरूलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेको विधानको दफा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ अनुसार कारवाही किन नगर्ने भन्दै स्पष्टीकरण सोध्नुभएको थिए । 

स्पष्टीकरणको जवाफमा उनीहरूले आफूहरू पार्टी विरोधी गतिविधि नगरेको र नवौँ राष्ट्रिय महाधिवेशनको निर्णय र निर्देशन तथा पार्टी विधान र पद्धतिमा रहेको जवाफ पठाएका छन् । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लाई सर्वोच्च अदालतले मान्यता नदिएपछि र एमाले र नेकपा (माओवादी केन्द्र) लाई पहिल्यैकै अवस्थामा ब्युताएपछि एमालेमा अध्यक्ष केपी शर्मा ओली र अर्का नेता नेपालबीच तिक्तता पैदा भएको छ । नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले संसद् विघटन गर्ने निर्णयविरुद्ध उभिएका थिए । 

एमाले ब्युँतिएपछि गत फागुन २८ गते बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रका नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापालगायत २३ जनालाई केन्द्रीय सदस्यमा आफ्नो सहभागिताविना मनोनीत गरेको भन्दै नेपाल समूह असन्तुष्ट हुँदै आइरहेको छ । नेता नेपाल समूहले पार्टीमा सामानान्तर गतिविधि सञ्चालन गर्दै आएका छन् । 

प्रतिक्रिया