नेपाल प्रधानमन्त्री त्रिदेशीय कप फुटबलको फाइनलमा प्रवेश

राम्रो अनलाइन     १४ चैत २०७९, मङ्गलबार
नेपाल प्रधानमन्त्री त्रिदेशीय कप फुटबलको फाइनलमा प्रवेश


काठमाडौँ–भुटानसँग बराबरी खेल्दै नेपाल प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले भुटानसँग १–१ गोलको बराबरीमा खेलेको हो । खेलमा पहिलो अग्रता भने भुटानले लियो । फितलो प्रदर्शन गरेको नेपालले खेलको पहिलो हाफमा नै एक गोल खायो । 
    
खेलको २० औँ मिनेटमा नै भुटानले अग्रता लियो । भुटानका दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले हेडमार्फत गोल गरे । एक गोल फर्काउन पनि नेपाललाई खेलको ९० औँ मिनेट कुर्नुपर्‍यो । खेलको ९० औँ मिनेटमा नेपाललका दीपकराजसिंह ठकुरीले एक गोल फर्काएपछि खेल १–१ गोलको बराबरी सकियो ।  
    
यसअघि चैत ८ गते भएको पहिलो खेलमा नेपालले लाओसलाई २–० गोलअन्तरले परािजत गरेको थियो । त्यतिबेला नेपालको जितमा जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरेका थिए । 
     
यस खेलसँगै अब फाइनल खेलमा नेपाल र लाओस भिड्ने पक्का भएको छ । नेपाल चार अङ्कसहित शीर्ष स्थानमा छ भने लाओस तीन अङ्काका साथ दोस्रो स्थानमा छ । यस खेलसँगै भुटान एक अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरियो ।
    
फाइनल खेल यही चैत १७ गतेसम्म हुनेछ । प्रतियोगिताको विजेता टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् । 
 

प्रतिक्रिया