मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन

राम्रो अनलाइन     १६ पुस २०८२, बुधबार
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ओमप्रकाश रानाबीच भेटवार्ता भएको छ ।

आज धनगढीमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहले प्रदेशमा बढ्दो लागुऔषध दुरुपयोग नियन्त्रण तथा निरुत्साहित गर्न प्रभावकारी कदम चाल्न प्रहरी प्रशासनले सक्रियता बढाउनुपर्ने भन्दै प्रमुख रानालाई निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

लागुऔषधले युवापुस्तामा नकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै उनले यसको नियन्त्रणमा प्रदेश प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन आवश्यक रहेको बताए । उनले प्रदेशको समग्र शान्ति सुरक्षा अवस्थाबारे जानकारी लिँदै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए । 

प्रहरी प्रमुख रानाले लागुऔषध नियन्त्रण तथा शान्ति सुरक्षाका क्षेत्रमा प्रदेश प्रहरी सक्रियताका साथ कार्य गरिरहेको जानकारी गराउँदै मुख्यमन्त्रीको निर्देशनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया