मोडलिङमा करिअर बनाउँदै गरेकी मनिषा

राम्रो अनलाइन     १६ असोज २०८१, बुधबार
मोडलिङमा करिअर बनाउँदै गरेकी मनिषा


झापाकी मनिषा राजवंशी आफ्नो समूदायबाट अभिनय र मोडलिङको क्षेत्रमा खासै उपस्थिति नभएका कारण यो क्षेत्रमा केही राम्रो गर्ने सोचका साथ मोडलिङ सम्बन्धी प्रतियोगिता र ब्युटी प्याजेन्टहरूमा भाग लिने गरेको बताउँछिन् । समाजशास्त्रमा एमए गरेकी उनी शिक्षिका हुन् । सन् २०१८ मा मिस राजवंशीको उपाधि जितेकी उनले सन् २०२१ मा मिस डिभाको वीनर भएकी थिइन् । ‘म मोडलिङमा यसो ट्राइ गरौँ न भनेर मात्र आएकी होइन्, मनिषा भन्छिन्, ‘आदिवासी राजवंशी समुदायबाट पनि अभिनय र मोडलिङको क्षेत्रमा केही गर्न सक्ने प्रतिभा रहेछन् भनेर स्थापित गर्न यो क्षेत्रमा लागेकी हुँ ।’ प्रतियोगिताहरूमा भाग लिँदा आफूलाई निकै नै ग्रुम गर्न सकिएको उनको अनुभव छ । फोटोजेनिक फेस भएकी उनका आँखा निकै सुन्दर देखिन्छन् । तस्बिरमा आकर्षक र बोल्ड देखिने उनी मोडलिङका लागि सम्भावना भएकी युवती हुन् ।


मनिषा कवि पनि हुन् । उनी मातृभाषा राजवंशी र नेपाली भाषामा पनि कविता लेख्छिन् । राजवंशी समूदायको बारेमा थेसिस गरिरहेकी उनी बौद्धिक मोडलका रूपमा आफूलाई यो क्षेत्रमा स्थापित गराउन प्रयत्नशील छिन् । रत्नराज्य क्याम्पसबाट स्नातकोत्तर गरेकी उनी कलेज टपर पनि हुन् । हालै काठमाडौंको बौद्ध हेरिटेजमा सम्पन्न एपटिक मोडल सुपरस्टार प्रतियोगितामा अर्गनाइजर च्वाइस टाइटल जितेकी उनले प्रतियोगितामा भाग लिएर वाकमा इम्प्रुभ भएको बताइन् । तीन वर्षको ग्यापपछि  र्‍याम्पमा उत्रिएकी उनले प्रतियोगिताबाट आफूलाई थप ग्रुमिङ गर्न सकिएको बताइन्  ।  

प्रतिक्रिया