मनोविज्ञान तथा मनोपरामर्श सम्मेलनः अध्ययन अनुसन्धानमा जोड

राम्रो अनलाइन     १५ असार २०८२, आइतबार

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको पहिलो राष्ट्रिय मनोवैज्ञानिक तथा मनोपरामर्श सम्मेलन अध्ययन तथा अनुसन्धान बढाउनुपर्नेमा जोड दिँदै सकिएको छ ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मनोविज्ञान विभाग र त्रिविकै मनोपरामर्श एमए कार्यक्रमको संयुक्त आयोजनामा शनिबारदेखि भएको सम्मेलनमा ३२ वटा विभिन्न अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिएका र त्यसले विश्वविद्यालयले अध्ययन अनसन्धानमा जोड दिँदै नयाँ खोज गर्नुपर्नेमा त्रिविका मनोविज्ञान केन्द्रीय विभागका प्रमुख डा खेमराज भट्टले जानकारी दिए ।

उक्त सम्मेलनमा विभिन्न पाँच सत्र आयोजना गरिएको थियो । ‘शिक्षा र साइकोमेट्रिक्स’ शीर्षकमा भएको सत्रको अध्यक्षता डा सन्देश ढकालले गरेका थिए । ‘बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य’ शीर्षकको अर्को सत्रको अध्यक्षता डा नन्दिता शर्माले गरेकी थिइन् । 

‘मनोविज्ञान र मनोपरामर्शमा समसामयिक विषय’ शीर्षकको अर्को सत्रको अध्यक्षता डा नारायणप्रसाद शर्माले गरेका थिए ।  ‘डिजिटल स्वास्थ्य र अन्य विषयहरू’ शीर्षकको सत्रको अध्यक्षता डा खेमराज भट्टले गर्नुभएको थियो भने ‘कार्यस्थल व्यवहार’ शीर्षकको अर्को सत्रको अध्यक्षता डा. केदार रायमाझीले गरेका थिए । 

कार्यक्रममा मनोविज्ञान क्षेत्रका विज्ञ, विभिन्न क्याम्पसका विभागीय प्रमुख, शिक्षक, विद्यार्थी साथै मनोविज्ञान क्षेत्रमा रुचि रहेकाहरूको उल्लेख्य उपस्थिति थियो । नेपालमा पछिल्लो समयमा मानिस डिप्रेसनमा जाने र आत्महत्यासम्म पुग्ने अवस्था दैनिकजसो देखिँदै आएको छ । प्रहरीको तथ्याङ्कमा पनि आत्महत्याको दर बढिरहेको छ । 

‘साइकोलोजी इन द चेन्जिङ वल्र्ड’ भन्ने नारासहित आयोजना गरिएको समेलनमा त्रिविका रेक्टर प्रा डा दुविनन्द ढकालले यस्ता कार्यक्रमले मनोविज्ञान मात्रै नभएर सामाजिक विज्ञानका क्षेत्रमा सकारात्मक योगदान गर्ने बताउँदै यसको आगामी वर्षमा पनि निरन्तरताका लागि आग्रह गरेका थिए । 

‘सामाजिक क्षेत्रमा देखिएको विभिन्न जटिलतालाई यस्ता किसिमका सम्मेलनले सम्बोधन गर्न भूमिका खेल्छ’, उनले भने, ‘आफ्नो स्थानबाट समाजलाई सकारात्मक दिशा प्रदान गर्न यो सम्मेलनले महत्वपूर्ण सुरुवात गरेको छ, आगामी दिनमा यसको दायरा बढाउँदै लैजानुपर्छ ।’ 

मनोविद् डा शिशिर सुब्बाले मनोविज्ञान आयातित ज्ञान भएकाले पश्चिमको आँखाले पूर्वका समस्यालाई हेर्न नहुने बताए । उनले पश्चिमको ज्ञानलाई पूर्वको संस्कृतिसँग जोड्न सकियो भने मनोविज्ञानको ज्ञान प्रभावशाली बन्न जाने बताए । 

मनोविज्ञान केन्द्रीय विभागका प्रमुख डा खेमराज भट्टले नेपालमा विसं २०३८ देखि मनोविज्ञानको सुरु भएको तर नेपालकै सांस्कृतिक र धरातलीय यथार्थमा भएका अनुसन्धानको भने कमी रहेकाले पनि यस क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान आवश्यक रहेको बताए । 

यसको यथार्थ महसुस गरेर नै पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरिएको उनको भनाइ थियो । ‘अरु विभागसँगै स्थापना भएको मनोविज्ञान नयाँ विषय होइन, औपचारिक रुपमा २०३८ सालबाट सुरु भएको यो विभागलाई अझै परिष्कृत बनाउँदै यहाँसम्म आइपुग्ने क्रममा यो सम्मेलन आयोजना भएको हो’, उनले भने ।

उनले आगामी दिनमा नेपालमा मनोविज्ञानको अन्तरराष्ट्रिय सम्मेलन गर्ने योजनाबारे जानकारी गराएका थिए । सम्मेलनका लागि ठूलो सङ्ख्यामा अनुसन्धाताको कार्यपत्र आएको र तीमध्ये छानिएका कार्यपत्र सम्मेलनमा प्रस्तुत गरिएको उनले बताए ।

त्यस्तै मनोपरामर्श एमए कार्यक्रमका प्रमुख डा सन्देश ढकालले कार्यक्रमका सहभागीलाई धन्यवाद दिँदै सबैको साथ र सहयोगले सम्मेलन गर्न सफल भएको बताए । त्रिवि विश्वविद्यालय क्याम्पसका प्रमुख डा अक्कलदेव मिश्रले समाज विज्ञान, प्राकृतिक विज्ञान र गणित विज्ञानको महत्वबारे कार्यक्रममा स्पष्ट पार्दै मनोविज्ञानसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरेकामा आयोजकलाई बधाई दिए ।

विभागका पूर्वप्रमुख प्राडा नन्दिता शर्माले सम्मेलन होला नहोला भन्ने परिस्थितिका बाबजुद सहज तवरले सफलतापूर्वक सम्पन्न भएको आभार व्यक्त गरे ।

प्रतिक्रिया