काठमाडौं– कडा मेहनत, परिश्रम तथा लगनशील भएर काम गरियो भने एउटा सामान्य व्यक्ति पनि सेलिब्रेटी बन्न सक्छ भन्ने कुराको उदाहरण बनेकी कलाकार हुन् पवित्रा । उनलाई अधिकांश दर्शकले मिस पबी भनेर चिन्छन् ।

पश्चिम नेपालको एउटा दुर्गम गाउँमा जन्मिएर हुर्किएकी मिस पबीलाई सोसल मीडिया टिकटकले उनी भित्रको प्रतिभालाई बाहिर ल्याउन सहयोग पुर्यायो । टिकटकबाटै उनी लोकप्रिय भइन् । बढ्दो लोकप्रियतालाई काठमाडौंले नियालिरहेको थियो, म्युजिक भिडियोहरुमा अभिनयका लागि प्रस्ताव पाइन् ।

आफ्नो गाउँ छाडेर काठमाडौं आइन् र म्युजिक भिडियोबाटै अभिनय करियरको थालनी गरिन् । यो अवधिमा उनले दर्जनौं म्युजिक भिडियो गरिन् । फलस्वरुप करिव एक वर्षअघि नै उनले नेपाली फिल्ममा डेब्यू गर्ने चर्चा चल्यो । चचा मात्र चलेन, ‘राज महल’ शीर्षक राखिएको फिल्मको निकै तामझामका साथ घोषणासमेत गरियो । तर फिल्म निर्माण भएन । मिस पबीको डेब्यू सपना पूरा हुन पाएन ।

‘राज महल’ नबनेर के भयो त रु मिस पबीको भाग्यमा फिल्मको अभिनेत्री बन्नु नै थियो । उनलाई ऋषि लामिछानेले आफ्नो नयाँ फिल्म ‘माग्ने राजा’ मा अनुबन्ध गरे । माग्ने बुढा अर्थात केदार घिमिरेको मुख्य भूमिका रहने ‘माग्ने राजा’ नै मिस पबीको डेब्यू फिल्म बन्ने भएको छ ।

म्युजिक भिडियोबाहेक केही टेलिश्रृंखलाहरुमा समेत अभिनय गरेकी मिस पबीलाई पछिल्लो समय दर्शकले हास्य कार्यक्रम ‘कमेडी दरबार’ मा समेत देखिरहेका छन् । त्यसअघि उनले टेलिश्रृंखला ‘ख्यालठट्टा’ मा पनि अभिनय गरेकी थिइन् ।







