ओखलढुङ्गामा मध्यावधि निर्वाचनको तयारी थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद् विघटन गरेर आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालयले सक्रियता बढाएको हो ।
मध्यावधि निर्वाचनको तयारी विशेष अन्तरक्रिया आयोजना गरेर निर्वाचन कार्यालयले जिल्लाका सबै स्थानीय तहमा आगामी माघ १५ देखि २१ गतेसम्म र जिल्ला सदरमुकाममा माघ १५ देखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने जानकारी दिएको छ । जिल्लाका आठ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने, निर्वाचन शिक्षा र सचेतनाका अभियानहरु चलाउनेलगायत कार्यक्रम तय गरिएको जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले बताए । उनका अनुसार आगामी माघ १६ र १७ गते दुई दिन प्रत्येक स्थानीय तहको केन्द्रमा आफ्नो नामावली सच्च्याउने, दोहोरो नामावली हटाउने तथा दाबी विरोधका लागि निवेदन दिन सकिनेछ ।
स्थानीय तहको केन्द्रलाई आधार मानेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिनेछ । उक्त कार्यक्रममार्फत मतदाताले मतदाता नामावलीमा आफ्नो नाम विवरण हेर्न एवं अद्यावधिक गर्न, मतदाता नामावलीमा भएका दोहोरोपन वा त्रुटि सच्याउने, मतदाता नामावली ऐनले व्यवस्था गरेका कार्यहरु सम्पन्न गरी हालसम्म सङ्कलित मतदाता नामावलीलाई वैधानिकता प्रदान गर्नेछ ।
यसैबीच मनाङमा पनि निर्वाचनको तयारी थालिएको छ । हिमालपारीको जिल्ला मनाङमा आगामी निर्वाचनका लागि मतदान केन्द्र निर्धारण गर्ने काम भएको हो । जिल्लाका चार वटै गाउँपालिकामा मतदान केन्द्र तोक्ने काम भएको हो ।
मतदान केन्द्र निर्धाण समितिको बैठकले जिल्लाभर २८ वटा मतदान केन्द्र निर्धारण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । उनका अनुसार चामे गाउँपालिकामा पाँचवटा मतदान केन्द्र रहने छ भने नासों गाउँपालिकामा नौ, मनाङ ङिस्याङ गाउँपालिकामा नौ र नार्पाभूमि गाउँपालिका पाँचवटा मतदान केन्द्र रहने छ ।