काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन आइतबारसम्म फिर्ता लिने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको स्थायी समिति बैठकले बढिमा समर्थन फिर्ता लिनका लागि आइतबारसम्म कुर्ने निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबारसम्म पुनः बैठक बसेर समर्थन फिर्ता लिने निर्णय गर्ने जानकारी सञ्चारकर्मीहरुलाई दिए ।
बैठकमा दलहरुसँग भएको वार्ताको ब्रिफिङ हुनुका साथै पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण भएको नेताहरूले बताएका छन् ।
अहिले पनि परिस्थिति स्पष्ट भइनसकेको र कसरी अगाडि भन्ने निर्क्यौल गर्न दलहरुले केही समय माग गरेकाले समर्थन फिर्ताबारे निर्णय नभएको नेता श्रेष्ठले बताए ।
बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई सत्ता समीकरणमा कसलाई सहयोग गर्ने हो, त्यसबारे प्रष्ट हुन आग्रह गरेको छ । श्रेष्ठले बैठकमा ओलीलाई सहयोग गर्ने भए ओलीसँगै गर्न र नगर्ने भए प्रष्ट रुपमा कांग्रेस र जसपाले भन्नु पर्ने विषयमा नेताहरूले धारणा राखेको बताए ।
नेता श्रेष्ठले आफूहरू केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित गर्न चाहेको र संसद्लाई पूरा अवधि क्रियाशील बनाउन चाहेको बताए ।