काठमाडौँ : विभिन्न समयमा चिरा परेका नेकपा माओवादीका सबै समूह मिल्न प्रक्रिया सुरु भएको छ । गोपाल किराती नेतृत्वको माओवादी केन्द्र, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच एकीकरण गर्न प्रक्रियाको थालनी भएको हो ।
एकीकरणको पहल कदमी भने किरातीले लिएका छन् । किरातीले प्रचण्ड, वैद्य, चन्दलाई पत्र लेखेर एकीकरण गर्न आब्हान गरेका छन् । उनले पूर्वमाओवादी नेता पूर्वप्रधानमन्त्री जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि पत्र पठाएका छन् ।
प्रचण्डले तत्कालिन एमालेसँग पार्टी एकीकरण गरेपछि किरातीले निर्वाचन आयोगमा माओवादी केन्द्र दर्ता गरेका थिए । सर्वोच्च अदालतले नेकपालाई अवैधानिक ठहर्याइदिएपछि प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले मान्यता पाएको छ । किरातीले पूर्वमाओवादीहरूलाई एक हुन आह्वान गर्दै पत्र पठाएको जानकारी दिए । पत्रमा प्रचण्डले प्रारम्भिक प्रतिक्रिया दिदै आफू सकारात्मक भएको बताएका किरातीले जानकारी दिए ।
दाहालको तर्फबाट मातृका यादव आफूलाई भेट्न आएको र अध्यक्ष प्रचण्ड सकारात्मक रहेको बताएको किरातीको भनाइ थियो । अन्य नेता र पार्टीबाट औपचारिक प्रतिक्रिया नआएपनि अनौपचारिक रुपमा सकारात्मक रहेको जानकारी आफूलाई आएको बताए ।
किरातीले देश भयानक दुर्घटनातर्फ जान लागेको भन्दै प्राप्त उपलब्धिलाई रक्षा गर्दै पूर्वमाओवादीहरू एक हुनुपर्ने निष्कर्ष निकाल्दै पत्र पठाएको बताए । वैचारिक विषयमा भने छलफल गर्दै जान सकिने विकल्प आफूले अघि सारेको उनको भनाई छ ।
माओवादी केन्द्रले नेकपा एमालेसँग एकीकरण गरेपछि किरातीले माओवादी केन्द्र पुनर्गठन गरेका थिए । सर्वोच्चको आदेशले एकता बदर भएपछि एमाले र माओवादी ब्युँतिएका छन् । दाहालले एमालेसँग एकता गरेपछि किँरातीले माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता गरेका थिए ।
प्रचण्डले सबै समूहबीच एकीकरण भए नामको समस्या नहुने र पार्टी पनि बलियो हुने भन्दै विप्लवलाई एक हुन आग्रह गरेका थिए ।