काठमाडौँ–उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा धर्नामा रहेकी महिला अधिकारकर्मी रुवी खानसहितका प्रतिनिधिलाई आज भेट गरी धर्नालगायतका आन्दोलनका कार्यक्रम स्थगित गरी अनुसन्धानमा सघाउन आग्रह गरेका छन् ।
भेटका क्रममा गृहमन्त्री लामिछानेले सरकार समक्ष राखेका मागका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेकाले धर्ना अन्त्य गरी छलफलमा आउन आग्रह गरेका छन् । माइतीघरमा पुगेर गरिएको उक्त भेटघाटमा गृहमन्त्री लामिछानेसहित गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए।
महिलाले नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै दुई साताभन्दा बढी समयदेखि माइतीघरमा धर्ना दिँदै आएका छन् । उनीहरूले यसअघि पनि पटकपटक आन्दोलन र धर्ना गरिसकेका छन् । ‘गृहमन्त्रीज्यूबाट चिसोमा नबसिदिनुहोस्, माग सम्बोधन गर्न तयार छौँ, कुनै त्रुटि छ भने भन्नुहोस् शङ्का लागेको छ भने पनि जानकारी दिनुहोस् हामी फेरि हेर्छौं, अनुसन्धान गर्छौं’, भेटघाटमा सहभागी गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘कमजोरी भए त्यो पनि भन्नुहोस्, गल्ती गर्नेलाई कारबाही गर्न तयार छौँ भन्ने कुराहरू भयो ।’
उक्त भेटमा आन्दोलनरत रुवी खानलगायतका प्रतिनिधिहरूले उक्त घटनाको सन्दर्भमा न्यायिक जाँचबुझ आयोग गठन गरे मात्रै आन्दोलन स्थगित गर्ने बताएका थिए । यसअघि पनि गृहमन्त्री लामिछानेले आन्दोरनरत पक्षलाई आन्दोलन छाडेर अनुसन्धानमा सघाउन अनुरोध गरिसकेका छन् । सरकारले उक्त घटनाबारे संवेदनशील भएर छानबिन अघि बढाउनुका साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले विशेष टोली परिचालन गरी घटनाबारे छानबिन गरिरहेकाले धर्ना र आन्दोलनका सबै गतिविधि स्थगित गर्न उहाँले आग्रह गरेका थिए ।
गृहमन्त्री लामिछानेले खानलाई फोन गरेर पनि घटनाबारे सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सघाउन आग्रह गरिसक्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्री लामिछानेले अघिल्लो सातामात्रै पनि गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसँगको छलफलमा सिआइबीलाई सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइसकेका छन् ।