बुटवल । लुम्बिनी प्रदेश सभाको बैैठक बुधबारका लागि बोलाइएको छ । संसद अधिवेशन अन्त्य भएको छ महिनाभित्रै अर्को बैठक बस्नु पर्ने बाध्यकारी व्यवस्थाका कारण सरकारले चैत्र १८ गते बैठक आह्वान गरेको हो । लुम्बिनी प्रदेश सभा स्थगित भएको चैत्र १९ गते छ महिना पुग्दै छ ।
प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले चैत्र १८ गते दिउँसो १ बजे बैैठक बोलाइएको जानकारी दिए । उनकाअनुसार सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ शाहले बैठक बोलाएका हुन् ।
सरकारले बनाउने बजेटमाथि प्रि बजेट छलफललगायतका विषय भए पनि नेकपा एमाले र माओवादी ब्युँतिएको अवस्थामा प्रदेश सभा लामो समय नचल्ने अनुमान गरिएको छ ।
प्रदेश सभामा दल विभाजनसम्बन्धी सूचना प्रस्तुत गरिने जानकारी दिइएको छ । यसअघि एमाले र माओवादी केन्द्रको एकतापछि एउटै दल भए पनि अदालतको आदेशसंगै दुईवटा दल बनेका छन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण सो दल सत्ता पक्षकै बेन्चमा बस्ने देखिएको छ ।