लेखक पुडासैनीको ‘समृद्धिको हुटहुटी’ पुस्तक विमोचन

राम्रो अनलाइन     २६ साउन २०८०, शुक्रबार
लेखक पुडासैनीको ‘समृद्धिको हुटहुटी’ पुस्तक विमोचन

काठमाडौँ–अश्विनकुमार पुडासैनीद्वारा लिखित ‘समृद्धिको हुटहुटी’ (सुशासन र समृद्धिका १०१ पाइला) नामक पुस्तक विमोचन भएको छ । दिव्या देउराली प्रकाशन प्रालिद्वारा आज आयोजित एक समारोहमा डा अरुण मास्के, लेखक पुडासैनी, समीक्षकद्वय डा धु्रव आचार्य र प्राध्यापक कृष्ण हाछेथु, नेपाल बैंक लिमिटेटका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, पर्यटन व्यवसायी ज्योति अधिकारी र प्रकाशनका प्रबन्ध सञ्चालक शालिग्राम खनालद्वारा संयुक्तरूपमा उक्त पुस्तकको विमोचन गरिएको हो । 

अघिल्लो वर्ष साउन २६ मा हृदयघात भई बिरामी भएका लेखक पुडासैनीले मृत्युको भयबाट मुक्त भए पश्चात्को चिन्तनमननका क्रममा अर्थपूर्ण जीवन जीउन आफ्नै पालामा देशको सुशासन र समृद्धिका लागि टिपोट गरेर सविस्तार गरिएको पुस्तक समृद्धिको हुटहुटी भएको बताए। 

कार्यक्रममा पुस्तक समीक्षककर्ता डा आचार्यले वित्तीय, शैक्षिक, प्राकृतिक, स्वास्थ्यलगायत सबै पक्षलाई समेटी बाल्यकालदेखि मृत्यु संस्कारसम्मको विषय समेटिएको बताउँदै लेखकको पुनःजीवनको उपहार पुस्तकमा रहेको बताए। 

समयको व्यवस्थापन, समानुपातिक शिक्षालगायतका एक सय एक विचारलाई कार्यान्वयनमा लैजानसकेमा समृद्धि हुने भाव पुस्तकमा रहेको उनले धारणा व्यक्त गरे। 

त्यस्तै अर्का समीक्षक प्राध्यापक हाछेथुले पुस्तकमा सिर्जनशीलता र कृत्रिमता रहेको बताउँदै लेखकले पुस्तकमा राखेका पाइला कसैको आग्रह पूर्वाग्रहमा नरहेको र लोक कल्याणकारी राज्यतर्फ उन्मुख रहेको बताए। 

पुस्तकमा केही अपूरा विषय पुनः परिष्कृत गर्न जरुरी रहेको उनको भनाइ छ । कार्यक्रममा डा मास्केले आधारभूत आवश्यकतामा राज्यको दायित्व हुनुपर्ने लेखकको पुस्तकले झल्काएको बताए । स्वास्थ उपचार, प्रत्येक नेपालीको बैंक खाता, जन्मदर्तामा स्वास्थ्य बीमा, सर्वसुलभ इन्टरनेट, निःशुल्क अन्तिम संस्कार लगायतका विषयवस्तु समेटिएको पुस्तकमा सिर्जनशीलता रहेको बताए। 

पुस्तकका लेखक पुडासैनीले मृत्युको क्षणमा आफ्नो परिवार र देशप्रतिको महत्त्व एक वर्षअघि हृदयघातको क्षणमा चिनाएको बताए । आफूले जीवनमा भोगेका विषयलाई पुस्तकमा समावेश गरेको उल्लेख गर्दै अर्थपूर्ण जीवन जीउनका लागि विगतका जीवनका भोगाइ प्रेरणाका स्रोत बनेको उनले बताए । 

लेखकका सहकर्मी तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले लेखकले आफ्नो समाज, मुलुकका लागि केही योगदान दिन सकिने हुटहुटी पुस्तकमा समावेश गरेको बताए । पर्यटन व्यवसायी अधिकारीले अतिरिक्त इच्छाको अभिव्यक्ति रहेको लेखकको पुस्तक आफू बाँचेको प्रमाणस्वरूप प्रकाशन गरेको पाइएको बताए ।

पुस्तक सम्पादक शरदचन्द्र वस्तीले पुस्तकमा लेखकको सकारात्मक ऊर्जाको अनन्त आवेग र मनको सच्चा भावना प्रष्ट भएको बताए । उनका अनुसार स्वस्थ सन्देश, जीवन सन्देशलगायतका सबै पक्षलाई समेटिएको पुस्तकमा जीवन बुझ्न चाहनेका लागि अति उपयोगी रहेको छ । लेखकको यसअघि विसं २०७७ मा चर्चित पुस्तक बत्तिमुनि उज्यालो प्रकाशित भएको थियो । 

विगत ३० वर्षदेखि सङ्गठन, व्यवस्थापन, नेतृत्व विकास, रणनीतिक कौशल, जनसम्पर्क, समूह कार्य एवं उत्प्रेरणा जस्ता विषयमा स्रोत व्यक्तिका रूपमा सरकारी, गैरसरकारी एवं निजी क्षेत्रका व्यवस्थापक, प्रशासक तथा विकासकर्मीलाई तालिम प्रदान गर्दै आएका लेखक हाल नेपाल बैंक लिमिटेड प्रधान कार्यालयका वरिष्ठ प्रबन्धकका रूपमा कार्यरत छन् । 
 

प्रतिक्रिया