किन झर्छ कपाल ? 

डा. धर्मेन्द्र कर्ण, छाला रोग तथा सौन्दर्य विशेषज्ञ     १० जेठ २०७८, सोमबार
किन झर्छ कपाल ? 

धेरैलाई कपाल झर्ने समस्याले हैरान पारेको हुन्छ । कपाल झर्ने विभिन्न कारण हुन्छन् । कपाल कोर्दा दैनिक सयदेखि १ सय ५० वटासम्म कपाल झर्नुलाई सामान्य मानिन्छ । योभन्दा बढी कपाल झ¥यो वा टुक्रियो भने त्यसपछि भने कपाल झर्नुका कारण खोज्ने र उपचार गर्नेतर्फ लाग्नुपर्छ । कपाल कसरी झर्न थालेको छ, त्यसमा पनि ध्यान दिनुपर्छ । बिस्तारै झर्दै गइरहेको छ कि अचानक एकैपटक धेरै झर्न थालेको छ, त्यसमा ध्यान पु¥याउनुपर्छ । बढी तनाव लिँदा पनि कपाल झर्न सक्छ । तनावका कारण कपाल झर्नुलाई मेडिकल भाषामा टलोजेन इफ्लुबियम भनिन्छ । ज्वरो आउँदा, रक्तस्राव हुँदा, निरन्तर व्रत बस्दा, हर्मोनको समस्या आदिका कारणले पनि कपाल झर्न सक्छ । बच्चा जन्मिएपछि, महिनावारी सुक्नुभन्दा अघि, रक्तअल्पता तथा थाइरोइड बढी भएका कारण पनि कपाल झर्छ ।  

बाक्लो कपाल छ र झरिरहेको पनि छ भने त्यसमा धेरै चिन्ता गर्नुपर्दैन । तर, बढी नै कपाल झरेको र तालु नै देखिएको छ भने छाला विशेषज्ञ चिकित्सकलाई जँचाएर उपचार गर्नुपर्ने हुन्छ । तालु नै देखिने गरी कपाल झर्नुको पछाडि वंशानुगत कारण पनि हुन सक्छ । पुरुषको निधारबाट क्रमशः कपाल झर्दै जानु तालु खुइलिनुको लक्षण हो । यो एक प्रकारको वंशानुगत रोग हो । तालु खुइलिने समस्या पुरुषको तुलनामा महिलामा कम हुन्छ । झरेको कपाल पछि उम्रिने सम्भावना हुन्छ । तर, कसै–कसैको कपाल खुइलिएर झरेको हुन्छ । यस्तो अवस्थामा नयाँ कपाल उम्रिँदैन । टाउकोमा निश्चित भागमा स–साना खाल्डा बनाएर पनि कपाल झर्ने हुन्छ । यस्तो अवस्थालाई मेडिकल भाषामा एलोपेसिया एरिएटा भनिन्छ । यसको कुनै स्थायी उपचार छैन । कहिलेकाहीँ आफैँ कपाल उम्रने गर्छ । 

कपाल झर्ने समस्या भएका महिला–पुरुष दुवैलाई आफ्नो कपाल धेरै नै झरेको महसुस हुन्छ । तर, जबसम्म छाला रोग विशेषज्ञले यसको विस्तृत टेस्ट गर्दैनन्, तबसम्म कपाल कुन रूपमा झरेको छ ? यसै भन्न सकिने अवस्था हुँदैन । फुल टेस्ट नेगेटिभ अर्थात् चिकित्सकले दुवै हातले बिस्तारै कपाल तान्दा एकपटकमा १० वटाभन्दा बढी रौँ हातमा आयो भने त्यो अवस्थालाई गम्भीर रूपमा लिनुपर्ने हुन्छ । अन्यथा, धेरै डराउनुपर्ने अवस्था हुँदैन । लामो समय ज्वरो आउँदा, महिनावारीको अवधि लामो हुँदा, बच्चा जन्मेपछि केही समय महिलाको कपाल अलि बढी नै झर्ने गरेको पाइन्छ । कतिपय अवस्थामा हर्मोन तथा थाइरोइडका कारण पनि कपाल झर्ने हुन्छ । बढी तनाव लिनेहरूको पनि कपाल बढी नै झर्छ । 

हर्मोन गडबड भएर कपाल झरे÷नझरेको पत्ता लगाउन रगतको केही जाँच गराउनुपर्ने हुन्छ । यसका लागि छाला विशेषज्ञ चिकित्सकसँग परामर्श गर्नु राम्रो हुनेछ । वंशानुगत कारणले कपाल झरेको छ भने पनि छ महिनासम्म औषधि सेवन तथा टाउकाको छालामा लगाउने विभिन्न औषधि प्रयोग गरेर तालु खुइलिनबाट जोगिन सकिन्छ । कपाल झर्नेहरूले कपाललाई धेरै मसाज गर्ने, कपाल कोरिरहने गर्नु हुँदैन । कपाल सुहाउँदो स्याम्पू प्रयोग गर्नुपर्छ । 
कपालको धेरै नै केयर तथा गलत केयर गर्दा पनि धेरैको कपाल झर्ने गरेको पाइन्छ । विज्ञापनको पछि लागेर बढी केमिकल प्रयोग गरिएका स्याम्पू, कलर, जेल प्रयोग गर्दा पनि कपाल टुक्रिने र झर्ने गरेको पाइन्छ । कपलामा ब्लिचिङ, स्ट्रेट, कलर, मेहदी आदि गर्दा पनि झर्ने समस्या देखा पर्छ । हेयर ड्रायरको प्रयोगले पनि कपाललाई टुक्राउने काम गर्छ । धेरै कसेर कपाल बाँध्ने तथा लामो समयसम्म कपाललाई गुटुमुट बनाएर राख्नेहरूको पनि कपाल झर्ने गरेको पाइन्छ । 

कपाल झर्नबाट रोक्ने उपाय
कपालमा स्याम्पू गर्दा जरामा नपर्ने गरी गर्नुपर्छ । स्याम्पू गरिसकेपछि कन्डिसनर लगाउने गर्नुपर्छ । नुहाइसकेपछि कपाल सुकाउँदा टावेलले बेरेर सुकाउँदा राम्रो हुन्छ । मोटो दाँत भएको काइँयोले कपाल कोर्ने गर्नुपर्छ । कपालमा आइरन गर्ने गर्नु हुँदैन । हेयर फिक्सिङ क्रिम लगाउने गर्नु हुँदैन । कपाल खुकुलो गरी बाँध्नुपर्छ । कपालमा रङ लगाउने र मसाज गर्ने बानी छ भने कम्तीमा चार हप्ताको ग्याप राख्नुपर्छ । कपालमा केमिकल नमिसाइएको तोरीको तेल लगाउँदा फाइदा हुन्छ ।   

प्रतिक्रिया