काठमाडौं । नुवाकोटका जनप्रतिनिधि र सरोकारवालाले काठमाडौंको फोहोरमैलाको दिर्घकालिन व्यवस्थापन गर्नको लागि अपिल गरेका छन् । उनीहरुले राज्यले दिर्घकालिन नीति अपनाएर समस्याको समाधान गर्नुपर्नेमा बताए । महानगरसँग शनिबार भएको सहमतिले दिर्घकालिन समाधान नगर्ने उनीहरुको भनाइ छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद हितबहादुर तामाङले काठमाडौं उपत्यकाका ४० लाखलाई प्रभावित पार्ने फोहोर मैलाको व्यवस्थापन गर्ने सानो कुरा नभएको बताए ।
सरकार र सिसडोल बञ्चरे डाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिबीच भएको सहमति सकारात्मक भएपनि सहमति आंशिक मात्रै भएको प्रतिक्रिया दिए ।
समस्याको दिर्घकालिन समाधानको लागि ठोस कदम चाल्नुपर्ने तामाङको भनाइ छ । उनले त्यसको लागि विज्ञ सम्मिलित टोली गठन गर्न पनि सुझाए । अहिले सबै समस्या समाधान वा हल भइनसकेको भन्दै उनले विगतका सम्झौताहरु अक्षरंश पालना गरिनु पर्ने बताए ।
नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिशनरसिंह केसीले २०६२ सालमा सरकार र स्थानीयबीच भएको सहमतिका बुँदा अहिलेको सहमतिमा उल्लेख नगरिएको बताए ।
उनले स्थानीय पीडितले पैसा नखोजेको पनि सुनाए । उनले फोहोरको राम्रोसँग व्यवस्थापन नभएको गुनासो पोखे । विगत १६ वर्षदेखि निरन्तर फोहोर फाल्ने काम भएको तर अहिलेसम्म सम्झौता भने कार्यान्वयन नभएको पनि केसीले गुनासो पोखे ।
सिसडोल बञ्चरे डाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिका अध्यक्ष नवराज ढुंगानाले आफूहरु विगत लामो समयदेखि एउटै समस्याको लागि काठमाडौंका विभिन्न सरोकारवाला निकाय धाएको स्मरण गराए । उनले उक्त समस्याको दिर्घकालिन समाधानको लागि धेरै पहल गरेको पनि सुनाए ।