काठमाडौँ । नेपाली कांग्रेसले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको श्रद्धान्जलीबारे निर्णय गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । जोशीको शव श्रद्धान्जलीका लागि आज मध्यान्ह १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा राख्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
अन्य कार्यक्रम तय गर्नका लागि कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बोलाइएको हो ।
जोशीको अन्तिम संस्कारबारे थप निर्णय त्यही बैठकले गर्नेछ ।
मस्तिष्कघात भएर गत फागनु १४ गतेदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा भर्ना भएका जोशीले शुक्रबार साँझ ८ बजेर २४ मिनेट जादा निधन भएको थियो ।
जोशीलाई फागुन १३ गते राती स्वास्थ्यमा समस्या देखिएपछि परिवारले वीर अस्पतालमा पुर्याएका थिए । परिक्षणका क्रममा उनको मस्तिष्कमा रगत जमेको भन्दै वीर अस्पतालले तत्कालै नर्भिकमा रेफर गरेको थियो ।
नर्भिकमा उपचारको एकसातापछि जोशीको स्वास्थ्यमा सुधार आइ उनलाई भेन्टिलेटर बाहिर पनि राखिएको थियो । तर लगत्तै उनको स्वास्थ्यमा पुनः जटिलता आएपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।