कांग्रेसको मुख्य एजेण्डा ओली सरकारको विकल्प खोज्ने : सभापति देउवा

राम्रो अनलाइन     २७ चैत २०७७, शुक्रबार
कांग्रेसको मुख्य एजेण्डा ओली सरकारको विकल्प खोज्ने : सभापति देउवा

 काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफूहरूको मुख्य एजेण्डा केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्नु रहेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन (संघ)को विधान अधिवेशनको उदघाटन गर्दै सभापति देउवाले  मुलुकको वर्तमान परिस्थितिलाई निकास दिन निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने बताए । देउवाले निर्वाचन बाध्यता हुनसक्ने बताए ।

 “सरकार गठन भए ठीकै भयो, भएन भने निर्वाचनमा जानुपर्ने हुन सक्छ, निर्वाचन बाध्यता हुन सक्छ । पार्टीको सरकार भएन भने पनि देशको निर्वाचन तथा पार्टीको अधिवेशनमा लाग्नुपर्नेछ । वर्तमान सरकारको विकल्प पनि खोज्नुपर्ने छ, यी दुवै काम प्राथमिकतामा छन्”, उनले भने ।

 सरकारको विकल्प खोज्ने गरी सत्ता समीकरणको चर्चा चलिरहेका बेला कांग्रेस सभापति देउवाको यस्तो भनाइ आएको हो । सत्ता साझेदारीका विषयमा सत्तारुढ दल एमाले, माओवादी र प्रतिपक्ष दल जनता सामाजवादी पार्टीबीच छलफल चलिरहेको छ । यी तीन दलको बैठक आजै अपराह्न बस्दैछ ।
    
सरकार हटाउन पार्टीले सक्रियता नदेखाएको भन्ने पार्टीका नेताको भनाइप्रति लक्षित गर्दै कांग्रेस सभापति देउवाले वास्तविकताको धरातलमा उभिएर अघि बढ्न पार्टी पङ्क्तिलाई निर्देशन दिए । 

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई हटाएर नयाँ सरकार गठनको प्रक्रियामा कांग्रेस अल्मलिनुहुन्न भन्ने भनाइप्रति प्रतिप्रश्न गर्दै सभापति देउवाले अहिले परिस्थिति अनुकूल नभएको र जनताको घरदैलमो पुगेर जनमत बनाएपछि सरकार बन्ने तर्क गरे । 


कांग्रेस सभापति देउवाले आफू प्रधानमन्त्री हुन लालायित नरहेको बताए । उनले भने, “म आफैँ प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन, वास्तविक धरातलमा बसेर काम गर्नुपर्छ, अहिले परिस्थिति अनुकूल छैन, मैले मै प्रधानमन्त्री हुनुपर्छ भनेको छैन, व्यक्ति खडा गरौँ पार्टीको सिद्धान्त र आदर्शसँग कसैसँग सम्झौता गर्दिन ।” 

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले व्यवस्था अस्तव्यस्त बनाउन वर्तमान प्रधानमन्त्री उद्यत रहेको आरोप लगाउँदै यस किसिमका गलत प्रवृत्तिका विरुद्ध एकजुट हुन पनि आह्वान गरे । उनले निजामती ऐन खारेज गरेर कर्मचारी अनुकूल बनाउनेतर्फ आफ्नो पार्टीले सक्दो पहल गर्ने आश्वासन दिए । कार्यक्रममा वरिष्ठ नेता पौडेलले तत्कालै निर्वाचनभन्दा पनि वर्तमान सरकारलाई हटाएर निर्वाचनको माहोल बनाउनुपर्ने बताए ।

पौडेलले पहिला पनि नेपाल कम्युनिष्ट पार्टी विभाजित भएको अवस्थामा कांग्रेसले सरकारको नेतृत्वको अवसर गुमाएको र अहिले पनि चुनौतीको अवस्था रहेको उल्लेख गरे ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले अहिलेको परिस्थितिमा कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था नरहेकाले मुलुकमा ढिलो चाँडो निर्वाचन हुने हुँदा त्यस दिशातर्फ पार्टीलाई सक्रिय ढङ्गले परिचालन गरिनुपर्ने बताए ।

महामन्त्री डा शशाङ्क कोइरालाले वर्तमान सरकारलाई नहटाएसम्म कांग्रेसको पक्षमा माहोल नबन्ने भन्दै आगामी निर्वाचन कांग्रेसको पक्षमा पार्न पनि अहिलेको सरकारको विकल्प खोज्नुपर्ने बताए । 

प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले दल विभाजित भएको अवस्थामा जनमत गुमाएको भन्दै सरकारको विकल्प दिएर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनुको विकल्प नरहेको बताए । 
    
केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारले निजामती प्रशासनलाई अस्तव्यस्त बनाएको टिप्पणी गर्दै सरकारको विकल्प दिएर मुलुकलाई निर्वाचनतर्फ लैजानुपर्नेमा जोड दिए । 

प्रतिक्रिया