काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह वैकल्पिक सरकार गठन गर्ने प्रयासमा नलाग्ने बताएको छ । अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति निकालेर आफूहरू वैकल्पिक सरकार गठनमा नलाग्ने बताएका हुन् ।
प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतको प्रस्तावमा मतदान नगरी तटस्थ बसेका अध्यक्ष ठाकुरले विज्ञप्तिमा सरकार निर्माण गर्ने पक्षमा पार्टी नरहेको उल्लेख गरेका छन्।
जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले सोमबार प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट विश्वास गुमाएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै संयुक्त विज्ञप्ति जारी गरेर नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।
यसले पार्टीमा मतैक्यता नभएको स्पष्ट देखिन्छ ।
सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत भएको ठाकुरको भनाइ छ । उनले वैकल्पिक सरकार गठन गर्नु मधेश आन्दोलनको भावना र मर्मविपरीत हुनेसमेत उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई मत नदिई ठाकुर पक्षका १५ जना तटस्थ बसेका थिए भने यादव पक्षका १५ जनाले ओलीको विपक्षमा सोमबार मत दिएका थिए।