पाँच दशकदेखि कविता लेखनमा निरन्तर सक्रिय कवि विमल निभा नेपाली साहित्यमा यशस्वी नाम हो । उनको तेस्रो कवितासंग्रह ‘जोकरको बन्दुक’ भर्खरै प्रकाशित छ । ‘आगोनेर उभिएको मानिस’ र ‘एउटा बाहुला नभएको बुसर्ट’ कवितासंग्रहका सर्जक निभा चोटिलो व्यंग्य लेखनका लागि पनि परिचित छन् । उनको स्तम्भ ‘सिउँडी’ लोकप्रिय छ । नयाँ कवितासंग्रह र उनको समग्र काव्ययात्राबारे राम्रो अनलाइनले गरेको कुराकानी
‘जोकरको बन्दुक’मा लोकतन्त्र प्राप्तिपछि लेखिएका कविता बढी समेटिएका छन् । यसबाट तपाईंले अभिव्यक्त गर्न खोजेको मुख्य कुरा के हो ?
‘जोकरको बन्दुक’भित्रका कविता धोका विरुद्धको अभिव्यक्ति हो । राजनीतिक–सामाजिक परिवर्तनको लयलाई आज जुन विश्राम दिन खोजियो, त्यसप्रति मेरो असहमति हो । कुनै पनि कविले एकै शैलीले कविता भन्नु हुँदैन । समयअनुसार नयाँ–नयाँ शैलीले भन्नुपर्ने हुन्छ । यसर्थ शैलीमा केही नयाँपन दिन खोजेको छु । तर, वैचारिक धारको निरन्तरतालाई मैले तोडेको छैन । विषयवस्तु र अभिव्यक्तिको बान्कीलाई भने नयाँ किसिमले प्रस्तुत गर्न खोजेको हुँ ।
एउटा कालखण्डमा म कविता लेखनमा निष्क्रिय थिएँ । त्यो अन्तरालले मभित्र छटपटी थियो । त्यो छटपटी एकैचोटि विष्फोट हुँदा कुनै झिल्को सबल भयो होला र कुनै झिल्को निर्बल भयो होला । तर, यो संग्रहमा विश्व परिवेश र त्यसबाट सृजित परिस्थितिको चित्र समेट्न सक्ने कविताहरू सँगालेको छु ।
‘जोकरको बन्दुक’मा एकैसालमा लेखिएका कविताको बाहुल्य छ । ‘कहिल्यै हतार नगर्ने विमल निभाले हतार गरेको हो कि’ भन्ने पाठकको गुनासो छ नि ।
पाठकको मप्रतिको मूल्यांकन ठीकै होला । तर, मैले सक्दो प्रयास गरेको छु ।
साहित्यकार शार्दूल भट्टराईले ‘रिमाल, भूपी र विमल निभा’ भन्ने वाक्यांश पटक–पटक प्रयोग गरेर तपाईंको कवितामाथि भूमिका लेख्नुभएको छ । यो वाक्यांशप्रति तपाईं मत के छ ?
म कविता लेखनको जुन परम्पराबाट आएको हुँ, त्यसको आरम्भ गोपालप्रसाद रिमालबाटै भएको हो । त्यसलाई समृद्ध पार्न भूपी शेरचनले थप योगदान गरे । यी दुई युगीन कविका जगमा नै नेपाली गद्य कविता यहाँसम्म आयो, जसलाई हामी नकार्न सक्दैनौँ । फेरि मैले आदर्श ठानेका कविहरूको नामसँग मेरो नाम जोडिँदा खुशी नै छु । यी कविसँग मेरो नाम जोडिनुले म सफल भएको नठाने पनि सफलताको नजिकै पुग्न सकेको महसुस गर्न सक्छु ।
कवि शैलेन्द्र साकारले तपाईंमाथि विश्लेषण गर्दा ‘विमल निभाका कवितामा कलापक्ष केही कमजोर छ, यद्यपि उनको कविताको शक्तिमाथि म विश्वस्त छु’ भन्नुभएको छ । कवि साकारको यो टिप्पणीलाई तपाईं के भन्नुहुन्छ ?
सायद कवि साकारको कविताप्रतिको धारणामा म फिट नभएको हुँ । तर, मैले कविता लेख्दा विचार र कलाको संयोजन गर्ने भरसक प्रयास गरेको हुन्छु । कवितालाई पाठकमाझ सकेसम्म बढी साक्षात्कार गराउन सजिलो होस् भन्ने शैलीले म लेख्छु । मेरा समकालीन कवि शैलैन्द्र साकारजीको विचारलाई म सम्मान गर्छु ।
यहाँले पाँच दशकभन्दा बढी समय कविता लेख्नुभयो । यो यात्राको सार्थकता र उपलब्धि केलाई मान्न्नुहुन्छ ?
मैले लेखेर समाजसँग संवाद स्थापित गर्न सकेँ । सार्थकता यही हो । यो संवादमा मेरा कविताको पनि आफ्नै योगदान होला, जसबाट मैले समाजमा आफूलाई प्रस्तुत गर्न सकेँ । उपलब्धि त केबाट मापन गर्ने ? उपलब्धि नापजोख गर्न मिल्दैन । कविता लेखेकै कारण समाज र परिवर्तन सँगसँगै रहन पाएँ । पाठकबाट पाएको ‘रेस्पोन्स’ र सद्भाव पनि त उपलब्धि नै हुन् ।
पछिल्लो दशक लेखिएका प्रगतिशील कविताहरू कलाविहीन र विचारविहीन भएको आरोप छ नि ?
यो आरोप पहिला–पहिलाका (दुई–तीन दशकअघि) सबै प्रगतिशील कवितालाई लाग्ने चल्तीको आरोप थियो । तर, आज यो आरोपलाई म मान्दिनँ । आजका प्रगतिशील र जनवादी कविता आजसम्मकै उत्कृष्ट लयमा छन् । धेरै सशक्त कविहरू यही समयमा देखापरेका छन् । कलासम्पन्न, विचारसम्पन्न र आफ्नो युगको स्वर उतार्न सक्ने कविता यही पछिल्लो दशकमा लेखिएका छन् ।
नयाँ कवि र कविताप्रति तपाईंको दृष्टिकोण ?
आजसम्मको प्रगतिशील कवितामा आएको सबैभन्दा सबल जमात अहिलेकै कविहरू हुन् । अहिलेको कविताको ‘सार्थक पुँजी’ पनि यिनै कवि हुन् भन्ने लाग्छ मलाई । उनीहरू समाज र समयसँग प्रश्न गर्न सक्षम छन् ।
तपाईं कविता र साहित्यबारे सार्वजनिक मञ्चमा कम बोल्ने स्रष्टामा पर्नुहुन्छ । बोल्न किन यति उदासीन हुनु भएको हो ?
म त्यति मुखर छैन, किनभने सबैको आ–आफ्नै स्वभाव हुन्छ । हाम्रोमा साहित्यबारे छलफल गर्ने अलोचक, समालोचक नभएरै कविहरू आफैँ यो कर्ममा लागेका हुन् । कविताबारे घगडान बहस गर्नेहरू नै छन् । मैले मेरा रचनामार्फत भन्नुपर्ने कुरा भनेकै छु । त्यसलाई व्याख्या गर्ने, विस्तार गर्ने काममा मेरो संलग्नता छैन । आफ्नाबारे आफैँ बोल्दा म अतिवादको शिकार हुन्छु, वा बढी नै भलाद्मीपनले थिचिएर ‘मैले त केही लेखेकै छैन, यसो प्रयास गर्दै छु’ भन्छु होला । यसैले साहित्यबारे बोल्ने काम समालोचक, आलोचक र अध्येताहरूको कर्म हो भन्ने ठान्छु ।
‘व्यंग्य’, ‘कविता’ र ‘विमल निभा’ । यी तीन शब्दलाई एकअर्काका पर्याय भन्न मिल्छ ?
मेरो लेखनको एउटा धार व्यंग्य नै हो । यसैले म कवितामा व्यंग्य बढी प्रयोग गर्छु । आजको लेखनको सबैभन्दा सशक्त हतियार व्यंग्य हो भन्ने विश्वास पनि गर्छु । व्यंग्यको हतियारले नै रचना तीक्ष्ण पार्न सकिन्छ । व्यंग्यविहीन साहित्यमा म केही रिक्तता र अभाव देख्छु । यस हिसाबमा हेर्दा यी तीन शब्द एकअर्काका पर्यायजस्ता देखिन सक्छन् । तर, व्यंग्यलाई सही प्रयोग चाहिँ गर्न सक्नुपर्छ । आजको व्यंग्य, वक्रोक्ति वा हास्यव्यंग्यलाई बढी नै सस्तो बनाइएको छ । यसप्रति चाहिँ मेरो असहमति छ ।
‘कविता र फोहोर लुगाहरू’ भन्ने तपाईंको एउटा कविता छ । त्यसमा तपाईंले ‘म कविताको आत्मालाई हत्या गर्न सक्दिनँ, बन्धुहरू !’ भन्नुभएको छ । कविताको आत्मा चाहिँ के हो ?
मेरो दोस्रो कवितासंग्रह ‘एउटा बाहुला नभएको बुसर्ट’मा यो कविता राखेको छु । त्यहाँ कविताको आत्मा भनेर मैले कविताको अन्तर्य भन्न खोजेको हुँ । कविताको मूलभूत कुरालाई नै आत्मा भन्न खोजेको हुँ । किनभने, कुनै एउटा बिन्दु वा विचारको कोणलाई समातेर नै साहित्य र कविता लेखिन्छ । त्यसैलाई मैले आत्मा भन्न खोजेको हुँ । त्यही आत्माको जगमा टेकेर कविता सयौँ वर्ष उभिन सक्छ ।
‘गाउँ’ भन्ने तपाईंको कविता समकालीन तथा युवा पुस्ताका कविमाझ लोकप्रिय छ । त्यो कविता लेख्दाको अवस्था बताइदिनुस् न ।
यो कविता २०३०–३२ सालमा लेखेको हुँ । वीरगञ्जमा नै बसेर लेखेको हुनाले त्यो कवितामा स्थानीय स्वाद आएको होला । यो कवितामा मैले एउटा आम गाउँको चरित्र उर्तान खाजेको छु । रामगढवा नामक त्यो गाउँ वीरगञ्ज शहरसँगै जोडिएको छ । त्यतिबेलाको वर्गीय संघर्ष र तल्लो वर्गमाथि समाजको उपल्लो वर्गले गरेको निर्मम उत्पीडनले मलाई यो कविता लेख्न प्रेरित गरेको हो । यो कवितालाई मेलै आफ्नो पहिलो कवितासंग्रह ‘आगोनेर उभिएको मानिस’मा समेटेको छु ।