झोलुङ्गे पुलले बनाउँदैछ सुगम 

राम्रो अनलाइन     २४ चैत २०७९, शुक्रबार
झोलुङ्गे पुलले बनाउँदैछ सुगम 

 

कैलाली– तराई भन्नेबित्तिकै धेरैलाई लाग्छ, सम्म परेको मैदानी भूभाग र सुगम क्षेत्र तर सुगम क्षेत्रमै पनि कतिपय अत्यधिक दुर्गम स्थान रहेका छन्। जहाँ बाटोघाटो, शिक्षा, स्वास्थ्यलगायत थुप्रै समस्या छन्। मैदानी भूभाग बढी रहेको कैलाली नदीनालाका जिल्लाका रूपमा पनि परिचित छ। 

नदीनाला बढिरहेका कारण कतिपय ठाउँमा एक गाउँबाट अर्को गाउँ आउजाउ गर्न समस्या पनि छ। नदीनालाका कारण स्थानीयले भोग्दै आएको त्यस्तो समस्यालाई प्रदेश सरकारले झोलुङ्गे पुलमार्फत समाधान गरिदिएको छ। झोलुङ्गे पुलले विकट गाउँलाई जोड्ने कार्य गरिरहेको छ। ‘झोलुङ्गे पुल बनेपछि विकट गाउँ जोडिएका छन्,’ पूर्वाधार विकास कार्यालयका गुनासो सुन्ने अधिकारीसमेत रहनुभएका अधिकृत ओमप्रकाश जोशीले भने, ‘आवतजावत पनि सहज भएको छ।’ उनका अनुसार प्रदेश सरकारको लगानीमा कैलालीमा अहिलेसम्म पाँचवटा झोलुङ्गे पुल बनेका छन्। एउटा निर्माणाधीन अवस्थामा छ। 

पूर्वाधार विकास कार्यालयका अनु्सार गोदावरी नगरपालिका–९ मा सेहरी र बल्मी गाउँलाई जोड्नका लागि खुटिया नदीमा २८१ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ। २०७६ साल मङ्सिर ६ गते ठेक्का सम्झौता भएको पुलको निर्माण कार्य यसै वर्ष पुस २० गते सम्पन्न भएको थियो। यो झोलुङ्गे पुललाई दुई करोड ७० लाख रुपियाँमा खाम्पाचे–थानी–रुविना जेभी काठमाडौँले बनाएको हो। घोडाघोडी नगरपालिकाको टेङ्ना खोलामा २०४ मिटर लामो झोलुङ्गे पुल बनाइएको छ। २०७६ चैत ६ मा ठेक्का सम्झौता भएको यो झोलुङ्गे पुलको निर्माण कार्य गत माघमा सम्पन्न भएको थियो। दुई करोड १८ लाख रुपियाँ लागतमा खाम्पाचे–थानी–रुविना जेभीले नै यो झोलुङ्गे पुल बनाएको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ। प्रदेश सरकारले बनाएका मध्ये यी दुई ठूला झोलुङ्गे पुल ठेक्कामार्फत बनेका हुन्, बाँकी तीनवटा झोलुङ्गे पुल उपभोक्ता समितिमार्फत बनाइएको अधिकृत जोशीले जानकारी दिए । उनका अनुसार उपभोक्ता समितिमार्फत बनेको झोलुङ्गे पुलमध्ये एउटा मसुरिया–गदरिया झोलुङ्गे पुल हो। कैलारी गाउँपालिका–६ र ९ लाई जोड्ने यो पुल ११३।८० मिटर लामो रहेको छ। ३५ लाख ८१ हजार रुपियाँमा बनेको यो पुलको सम्झौता २०७६ जेठ २४ गते भएको थियो। २०७७ भदौ २४ मा निर्माण कार्य सम्पन्न भएको जनाइएको छ। 

यस्तै अर्को जोशीपुर गाउँपालिका–४ र जानकी गाउँपालिका–७ जोड्ने बारी गाउँ झोलुङ्गे पुल रहेको छ। ८०।२० लामो यो पुल पथरैया नदीमा बनेको हो। २०७७ साल असोज २३ मा ठेक्का सम्झौता भएको यो पुलको सम्पूर्ण निर्माण कार्य २०७८ साल जेठ २५ मा सकिएको थियो। ३६ लाख ४३ हजार रुपियाँ लागतमा बारी गाउँ झोलुङ्गे पुल बनेको जनाइएको छ।

यस्तै उपभोक्ता समितिमार्फत बनेको अर्को पुल हो, निगाली झोलुङ्गे पुल। चुरे गाउँपालिका–१ मा बनेको यो पुलको लम्बाइ ११२ मिटर रहेको छ। २०७६ सालमा सम्झौता भएको यो पुलको निर्माण कार्य २०७७ साल असोज २४ मा सम्पन्न भएको थियो। २० लाख ८७ हजार रुपियाँमा निगाली झोलुङ्गे पुल बनेको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ। कैलारी गाउँपालिका–३, खोनपुर–शिवरत्नपुर जोड्ने झोलुङ्गे पुल निर्माण कार्य भने अनिश्चित बनेको छ। दुईवटा पिल्लर खडा भएकोमा गएको वर्षायाममा आएको बाढीले पिल्लर बगाएको थियो। अब फेरि त्यही ठाउँमा पुल बनाउने वा स्थान बदल्ने विषयमा टुङ्गो नलागेको अधिकृत जोशीले बताए ।   

प्रतिक्रिया