जेन दीपिका गारेटसहितका सेलिब्रेटीले ‘आईसी डिजाइनर रनवे’को र्‍याम्पमा क्याटवाक गर्ने 

राम्रो अनलाइन     १६ चैत २०८०, शुक्रबार
जेन दीपिका गारेटसहितका सेलिब्रेटीले ‘आईसी डिजाइनर रनवे’को र्‍याम्पमा क्याटवाक गर्ने 


काठमाडौं– जेन दीपिका गारेट, प्रियंका कार्की, नीति शाह, अश्मी श्रेष्ठ, मेलिना जोशी, प्रियंकारानी जोशी, समर्पणजंग कार्की, सविता कार्की लगायतका सेलिब्रेटीले र्‍याम्प नाप्ने भएका छन् ।

आउँदो शुक्रबार होटल याक एण्ड यतिमा आयोजना हुने १३ औं ‘आईसी डिजाइनर रनवे’ नामक फेसन शोमा उनीहरु शो–स्टपरको रुपमा पहिरनसहित र्‍याम्पमा देखिन लागेका हुन् ।

जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको उक्त फेसन शोमा भारत, रुस, सर्विया लगायत मुलुकका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता रहने जनाइएको छ । २६ नेपाली मोडलले डिजाइन प्रस्तुत गर्नेछन् ।

अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको समेत सहभागिता रहने शोको व्यवस्थापन जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले बहन गर्दैछ । अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसन शोको रुपमा ‘आईसी डिजाइनर रनवे’लाई प्रस्तुत गर्न लागेको नेक्स्ट मोडल्स नेपालका सीइओ रवि धमलाले बताए ।

शोमा आईसी कलेजका २०२१ ब्याजका ७३ विद्यार्थी डिजाइनरले तयार पारेका भिन्न पहिरन १५ सिक्वेलमा प्रस्तुत हुनेछ ।

प्रतिक्रिया