इजरायली सेनाले एक हप्ता लामो भीषण संघर्षपछि गाजापट्टीको सबैभन्दा ठूलो सहर गाजा सहरलाई घेरा हाल्न सफल भएको बताएको छ । यस क्रममा उसले सम्पूर्ण गाजापट्टीलाई दुई भागमा विभाजन गरेको छ । इजरायली सेनाका अनुसार हमासको नेतृत्व र मुख्य लडाकु दस्तालाई गाजा सहर रहेकाले त्यसलाई घेराबन्दी गरिएको हो । जमिनमा घेराबन्दीमा सक्रिय फौजलाई कभर दिन इजरायलले आइतबार जमिन, आकास र समुद्रबाट भीषण बमबारी गरेको थियो । साथै सो क्षेत्रका सम्पूर्ण सञ्चार सम्पर्क पनि विच्छेद गरिएको थियो ।
नजिकिँदै गरेको स्थल युद्धको तयारीका लागि हमास भने घना बस्तीबीचमा तिनको स्थिति बलियो बनाउन लागेको अन्तर्राष्ट्रिय मिडियाले बताएका छन् । इजरायली मिडियाले भने हाल गाजा सहरको बाह्य भागमा रहेका तिनको देशको सानो आगामी ४८ घन्टाभित्र पूर्ण शक्तिका साथ सहर प्रवेश गर्ने बताएका छन् । उता इजरायली सेनाले गाजा सहरलाई घेरेको सन्दर्भमा अमेरिकाले आगामी दिनमा इरान र हेजबुल्लाले हमासको पक्षमा आक्रमण गरे । आफूले प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएको छ । यसको तयारीका लागि आफूहरूले सो क्षेत्रनजिक ओहायो–क्लास गाइडेड मिसाइल बोक्ने पनडुब्बी पठाइसकेको दाबी गरेको छ । ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गरेको न्युयोर्क टाइम्सको समाचारमा अमेरिकाले यसबारे इरान र हेजबुल्लालाई औपचारिक सन्देशसमेत पठाइएको उल्लेख छ ।
उता इजरायली सेनाका एक प्रवक्ताले आफूहरूले नागरिकलाई थप दक्षिणतर्फ जान दिनका लागि उत्तरी गाजामा दुई दिन कैयौँ घन्टा बमबारी रोकेको बताएका छन् । ‘हामीले तिनलाई कहाँ जाने मात्रै बताएनौँ, ती जाने भनिएको दक्षिणमा थप मानवीय स्थिति निर्माण गर्न सघाइरहेका छौँ,’ लेफ्टिनेन्ट कोलोनेल जोनाथन कोनरिकसले भने ।