हतारमा ट्याटू  फुर्सदमा पछुतो 

डा.सञ्जुबाबु श्रेष्ठ, छाला, यौन तथा सौन्दर्य विशेषज्ञ     २३ जेठ २०७८, आइतबार
हतारमा ट्याटू  फुर्सदमा पछुतो 

किशोर÷किशोरीमा ट्याटू खोप्ने फेसनै चलेको छ । सेलिब्रिटी तथा खेलाडीले ट्याटू हानेको देखेपछि उनीहरूलाई ‘फलो’ गर्दै ट्याटू खोप्ने बढेका छन् । धेरैजसो किशोर÷किशोरी साथीको लहैलहैमा लागेर ट्याटू खोपेको बताउँछन् । कतिपयले शरीरको देखिने भाग जहाँ खत छ त्यसलाई छोप्नका लागि पनि ट्याटू खोप्ने गरेका छन् । कतिपयले आफूलाई ‘युनिक’ देखाउन ट्याटू खोपेको बताउँछन् । कतिपय जातिमा ट्याटू खोप्नु उनीहरूको संस्कृतिसँग पनि जोडिएको हुन्छ । थारु तथा चौधरी समुदायमा ट्याटू खोप्नु भनेको उनीहरूको संस्कृतिसँग जोडिएको विषय हो । तर, शहरका युवायुवतीले भने आफूलाई अरूभन्दा भिन्न देखाउन ट्याटू खोप्ने गरेको पाइन्छ । 

हतारमा ट्याटू हानेर फुर्सदमा पछुताउनेहरू धेरै भेटिन्छन् । हरेक दिनजसो ट्याटू हटाइदिनुप¥यो भनेर आउनेसँग कुराकानी गर्दा उनीहरूलाई ट्याटूले तनाव दिएको बुझ्न सकिन्छ । ‘पहिला ट्याटू खोपिहालियो अब यो मन परेन हटाइ दिनुप¥यो’ भनेर आउनेहरू दिन प्रतिदिन बढिरहेका छन् । प्रेमी–प्रेमिकाको नाममा ट्याटू हानेकाहरू ब्रेकअपपछि हटाइदिनुप¥यो भनेर आउने गरेका छन् । धार्मिक आस्थाअनुसार शिव, गणेशका चित्र खोपेकाहरू धर्म परिवर्तन गरेपछि मेटाउनुप¥यो भनेर आउने गरेका छन् । सेना, प्रहरीमा जागिर खान खोज्नेहरू तथा वैदेशिक रोजगारीमा जान चाहनेहरू ट्याटू हटाउन आउने गरेका छन् । 
ट्याटूमा प्रयोग गरिने रङ एक प्रकारको ‘केमिकल’ हो । विशेष प्रकारको सियोमार्फत ट्याटू आर्टिस्टले छालाभित्र (डर्मिस) इन्ट्रा डर्मलसम्म केमिकल पु¥याउने गर्छन् । ट्याटू हान्दा छालामा एलर्जी, इन्फेक्सन तथा क्यान्सरसमेत हुने खतरा हुन्छ । ट्याटू हानेको ठाउँको खत बढ्ने समस्या देखिन्छ । 
ट्याटू हटाउने तरिका 

ट्याटू हटाउने विभिन्न तरिका छन् । सानो आकारको ट्याटू छ भने त्यो ठाउँको छाला सर्जरी गरेर हटाउन सकिन्छ । यसो गर्दा सर्जरी गरेको ठाउँमा सानो दाग भने बस्छ । कपडाले छोपिने ठाउँमा छ भने छोपेर हिँड्दा ट्याटू देखिँदैन । यसलाई ‘रिमुभ’ गर्नैपर्छ भन्ने छैन । तर, प्रेमी–प्रेमिका जसको ब्रेकअप भएपछि अर्कैसँग घरजम गर्नुपर्ने हुन्छ, उनीहरूले भने अनिवार्य रूपमा ट्याटू हटाउनुपर्ने बाध्यता आइलाग्छ । 

ट्याटू रिमुभ गर्न अहिले सबैभन्दा बढी चलेको पद्धति भनेको लेजर हो । लेजर भनेको किरणको माध्यमद्वारा उपचार गरिने पद्धति हो । विशेष खालको मेसिनबाट इलेक्ट्रोम्याग्नेटिक रेडिएसनद्वारा यो पद्धतिमा उपचार गरिन्छ । विशेष प्रकारको कृत्रिम प्रकाश, जसलाई मेसिनको सहायताबाट एकत्रित गर्दा विशेष प्रकारको शक्ति निस्कन्छ, त्यही शक्तिको माध्यमबाट यो विधिमा उपचार हुन्छ । लेजरको प्रयोग कुनै अंगलाई काट्न, प्वाल पार्न, फोर्न, क्षति गर्न र उत्तेजित गर्न प्रयोग गरिन्छ । तर, लेजरले जुनसुकै समस्यालाई जादु गरे जस्तै समाधान भने गर्न सक्दैन । अहिले लेजरले सबै समस्या समाधान गर्न सकिन्छ भनेर विज्ञापन गरिएको देखिन्छ । तर, त्यो साँचो होइन । सन् १९६० पछि छालाका विभिन्न समस्यामा लेजरको प्रयोग हुन थालेको हो । छालाको उपचारमा प्रयोग हुने थालेपछि लेजरको प्रयोगलाई कस्मेटिक प्रयोजनसँग जोडेर हेरिने गरेको पाइन्छ ।

लेजर दुई प्रकारका हुन्छन्, ‘एब्लेटिभ’ र ‘नन–एब्लेटिभ’ । एब्लेटिभ लेजरले छालाको माथिल्लो तहमा घाउ बनाउँछ । नन–एब्लेटिभले छालाको माथिल्लो भागमा घाउ नबनाई छालामा असर देखाउँछ । लेजरले अनुहारमा भएका कोठी, ट्याटू, मुसा, जन्मजात रहेका नीलो रङका कोठी निकाल्न तथा अनावश्यक रौँ हटाउन सकिन्छ । एब्लेटिभ लेजर गर्नुपर्दा लेजर गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएपछि कोठी तथा दागको प्रकार हेरेर कुन खालको लेजर प्रयोग गर्नुपर्ने हो, त्यो निक्र्योल गरिन्छ । लेजरमा किरणको माध्यमबाट ‘अनवान्टेड टिस्यू’ लाई हटाउने गरिन्छ । ट्याटू हटाउन लेजर गर्दा छालाभित्र जमेर बसेको रङ ‘बस्र्ट’ हुन्छ । बस्र्ट भएको रङको टुक्रा छालामा भएको छिद्रमार्फत बाहिर निस्कन्छ । बाहिर ननिस्किएको टुक्रालाई शरीरको म्याक्रोफेजले खाएर नष्ट गरिदिन्छ र ट्याटू बिस्तारै हट्दै जान्छ । एकदेखि डेढ महिनाभित्रमा चारदेखि छ पटक लेजर गरेपछि ट्याटू हट्छ । नेपालमा कालो, निलो र रातो कलरको ट्याटू हटाउन सकिने प्रविधि उपलब्ध छ । हरियो र पहेँलो रङको ट्याटू हटाउन सक्ने लेजर नेपालमा उपलब्ध छैन । त्यसैले ट्याटू हान्नैप¥यो भने पनि मल्टिकलरको ट्याटू नहान्दा राम्रो हुन्छ ।   

लेजर विभिन्न प्रकारका हुन्छन् । कस्तो समस्यामा कस्तो खालको लेजर प्रयोग गर्ने भन्ने कुरा विशेषज्ञ चिकित्सकले मात्र निधो गर्न सक्छन् । छालासम्बन्धी विभिन्न रोगमा लेजरले जादु गरेजस्तै क्षणभरमा चट पारिदिने जस्ता भ्रामक प्रचारका कारण धेरैले आफ्नो छालाको भइरहेको सौन्दर्य पनि गुमाइरहेका छन् । एउटै आईपीएल (इन्टेन्स पल्स्ड लाइट) मेसिनमा ट्याटू हटाउने, रौँ हटाउने, डन्डीफोर हटाउने, चायापोतो हटाउने, चाउरीपना हटाउने भन्दै विभिन्न वेभलेन्थ फिक्सड गरिएको हुन्छ । जसलाई सामान्य तालिम लिएकाहरूले जथाभावी ढंगले चलाइरहेका छन् । ब्युटिपार्लरहरूले समेत यस्ता आईपीएल मेसिन राखेर ट्याटू हटाउने, रौँ हटाउने, चाउरी हटाउने भन्दै सेवा दिन थालेपछि थप भ्रम र अन्योल सिर्जना भएको छ । वास्तवमा यो लेजर होइन । 
लेजरको प्रकारअनुसार त्यसमा छुट्टाछुट्टै वेभलेन्थ सेट गरिएका हुन्छन् । कस्तो समस्यामा कुन वेभलेन्थको लेजर प्रयोग गर्नुपर्छ भन्ने जानकारी नभईकन लेजर प्रयोग गर्दा त्यसले नकारात्मक असर देखाउँछ । छालाको समस्यामा कसैले लेजर प्रयोग गर्दैछ भने त्यो व्यक्तिले लेजरको बारेमा राम्रोसँग जानकारी हासिल गर्नुका साथै ऊ छालारोग विशेषज्ञ हुनु पनि जरुरी छ । मेसिन हो, सिकेपछि जसले चलाए पनि हुन्छ भन्ने ढंगले लेजरको प्रयोग गर्नु हुँदैन । अत्याधुनिक एउटै लेजर मेसिनको एक करोड रुपैयाँसम्म पर्छ । त्यसैले लेजर जहाँसुकै सर्वसुलभ ढंगले उपलब्ध छैन भन्ने बुझ्न जरुरी छ । धेरैले आईपीएल मेसिनलाई नै लेजरका रूपमा प्रचार गरेकाले धेरैलाई लेजरसम्बन्धी भ्रम रहेको छ ।     
 

प्रतिक्रिया