हिमगिरी हाइजेनिक उद्योगको ब्राण्ड एम्बेस्डरमा हास्य कलाकार द्वय ‘मह जोडी’ अनुबन्धित 

राम्रो अनलाइन     ०६ साउन २०८१, आइतबार
हिमगिरी हाइजेनिक उद्योगको ब्राण्ड एम्बेस्डरमा हास्य कलाकार द्वय ‘मह जोडी’ अनुबन्धित 


मोरङ– हिमगिरी हाइजेनिक उद्योग प्राली विराटनगरले ब्राण्ड एम्बेस्डरका लागि प्रसिद्ध हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई अनुबन्धित गरेको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा उद्योगका अध्यक्ष महेश जाजु, प्रबन्ध निर्देशक प्रकाश मुन्दडाले महाजोडीसँग एक वर्षको सम्झौता पत्र आदान प्रदान गरे ।

सो अवसरमा कलाकारद्वय श्रेष्ठ र आचार्यले युवाहरूलाई स्वदेशमा रोजगारी उपलब्ध गराउन नीजि क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

उनीहरूले नेपालमा रेमिट्यान्स मात्र भित्रिएर गर्व गर्ने भन्दा पनि रेमिट्यान्सबाट आएको पैसालाई उत्पादन क्षेत्रमा लगाउन सके युवाहरूले रोजगारीका लागि विदेश जानु नपर्ने बताए।

उद्योगका अध्यक्ष बेनीगोपाल मुन्दडा, अध्यक्ष जाजु र प्रबन्ध निर्देशक मुन्दडाले उत्पादित सामाग्रीहरूमा गुणस्तरलाई विशेष ध्यान दिएको भन्दै स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए।

उद्योगले लुगा धुने पाउडर, लुगा धुने, भाँडा माझ्ने र नुहाउने साबुन, स्याम्पु, नेपकिन, शौचालय सफा गर्ने सामाग्री, मास्क, लगायतका सामानहरू उत्पादन गर्दै आएको छ ।

उद्योगमा हालसम्म ३२ करोड बढीको लगानी रहेको र आगामी दिनमा थप एक अर्ब लगानी गरी युवाहरूलाई रोजगारी उपलब्ध गराउने लक्ष्य रहेको उद्योगका अध्यक्ष जाजुले बताए।

उद्योगले आफ्ना उत्पादनहरू भारतको विहार, पश्चिम बङ्गाल, उत्तरप्रदेश, झारखण्ड र भुटानमा निर्यात गर्ने लक्ष्य लिएको पनि सो अवसरमा जानकारी गराइयो ।

प्रतिक्रिया