हाँसो डाक्टरले सिफारिस नगरेको अचुक औषधि हो : दीपकराज गिरी

राम्रो अनलाइन     २२ जेठ २०७८, शनिबार
हाँसो  डाक्टरले सिफारिस नगरेको अचुक औषधि हो : दीपकराज गिरी

कलाकार मात्र भने पुग्नेमा हास्यकलाकार किन भनिएको होला ? रुन्चे कलाकार पनि हुन्छ र ?
रुन्चे पनि हुनुपर्ने हो । ‘एक्सन’, ‘चक्लेटी’ नायक भन्छन् । कलाकारका अगाडि एउटा उपमा दिँदा सजिलै होला ।  

हँसाउन गाह्रो हुन्छ भनिन्छ  । किन गाह्रो हुन्छ ?
आँशु मान्छेलाई धेरै थरीबाट आउँछ । दुःखको आँशु, पीडाको आँसु, व्यथाको आँशु, धर्मकर्मको आँशु, भावुकताको आँशु हुन्छ । तर, हाँसोको प्रकार एउटै छ– प्रसन्न हाँसो । भावुकताको हाँसो, रोदनको हाँसो भन्ने हुँदैन । हाँसो, हाँसो हो । त्यसकारण हँसाउन गाह्रो छ । 

पर्दामा त कमेडी गर्नुहुन्छ । घरमा चाहिँ परिवारलाई कत्तिको हँसाउनुहुन्छ ?
घरमा पनि हँसाउछु । श्रीमतीसँग पनि ठट्टा गर्छु, हँसाउँछु । मभन्दा बढी उनी हँसाउँछिन् । मेरो बानी सरेर होला, छोराछोरी पनि ‘कमेडी–कमेडी’ टाइपको कुरा गर्छन् ।  

केही समीक्षकका अनुसार नेपालमा ‘जोकर’ र कमेडियन’मा कुनै अन्तर छैन । यसलाई कसरी  ‘डिफेन्ड’ गर्नुहुन्छ ?
पहिले–पहिले त मलाई ‘जोकर’ नै भन्थे । अहिले धेरै फरक भएको छ । यो शिक्षाको कुरा पनि हो । पढेको मान्छेले ‘बुबा’भन्छ, नपढेको मान्छेले ‘ए बाऊ’ भन्छ । शिक्षाले सम्बोधनमा असर गर्छ । पहिले नपढेका मान्छेका लागि हामी जोकर थियौँ । पढेका मान्छेले त त्यस्तो नभन्लान् । अहिले हरेक क्षेत्रमा हास्यकलाकारको बाहुल्य छ । 

हास्यकलाकारले हँसाउने नाममा तथानाम गरेको आरोप छ नि ?
व्यापार गर्ने नाममा कतिले सुन तस्करी गरेका छन् । यसको मतलब सबै व्यापारी सुन तस्कर हुन् भन्न मिल्दैन । एउटा पेशा, व्यवसायमा लागेका सबैको मन, बौद्धिक क्षमता फोटोकपी गरे जस्तो एउटै हुँदैन । सबै हास्यकलाकारलाई एउटै तराजुमा राखेर जोख्न मिल्दैन । जुन गुण ममा छ त्यो अरूमा नहोला, जुन अरूमा छ, त्यो ममा नहोला । कोही मान्छेले हास्यव्यंग्यको नाममा मनपरी गरिरहेका होलान् । तर, त्यसको दोष सबैलाई लगाउनु भएन ।

तपाईंको प्रिय अन्तर्राष्ट्रिय हास्यकलाकार को हो ?
पहिले उत्तपल दत्त मन पर्थे । परेश रावलको कमेडी पनि राम्रै लाग्छ । अमिताभ बच्चन चाहिँ सबैभन्दा माथि छन् । 

नेपालमा ‘स्ट्यान्डअप कमेडी’ त्यति जमेको छैन, होइन  ?
अहिले मनोज गजुरेलले त्यसको एक किसिमले नेतृत्व गरिरहनुभएको छ । उहाँले एकदमै हँसाउनुहुन्छ । जितु नेपाल, विल्सनविक्रम राई लगायतले पनि राम्रै गरिरहनुभएको छ । यत्ति हो, हामीले कपिल शर्मा जत्तिको फ्लोर सिर्जना गर्न सकेनौँ । यसलाई टेलिभिजनमा ल्याएर ‘हाइप’ सिर्जना गर्न चाहिँ बाँकी छ ।

पेट दुख्ने गरी हाँसेको कुनै क्षण छ ?
हास्यकलाकार हुँ, सानोतिनो कुराले हाँसो उठ्दैन । म हाँसोमा खेलिरहेको हुनाले मलाई हँसाउनु भनेको ठूलै कुरा हो । तर, हाँस्दा म खुलेरै हाँस्छु । धेरै पटक हाँसेको छु । 

व्यंग्य गरेबापत तपाईंसँग को–को रिसाए ?
व्यंग्य गरेर रेडियो नेपालको जागिरै खुस्केको मान्छे हुँ म । २०५३ सालतिर रेडियो नेपालमा राजा वीरेन्द्र आएका थिए । मलाई हँसाउने जिम्मा दिइएको थियो । हँसाउनलाई नेताहरूलाई व्यंग्य गरेर एउटा प्रहसन गरेको थिएँ । त्यसपछि नेताहरूले मेरो जागिर खुस्काइदिहाले नि ।

देशको अवस्था हाँस्न सकिने खालको छैन । यस्तोमा तपाईंहरू हँसाउने बिजनेसमा हुनुहुन्छ । यो रमाइलो विरोधाभास होइन ?
नेपाल मात्र होइन, अमेरिकामा पनि कहाँ कहिले राम्रो भएको छ ? ट्वीन टावर ढल्यो । आतंकवादको छायामा अमेरिका बसिरहेको छ । कहिले आर्थिक मन्दीले सताइरहेको छ । हरेक देशमा समस्या छन् । हरेक देशमा हास्यकलाकारको सम्मान उच्च छ । कमेडीको नेपालमा भन्दा विदेशमा बढ्ता सम्मान छ । 
हाँसोलाई एक वाक्यमा परिभाषा गर्नुप¥यो भने...
यो डाक्टरले सिफारिस नगरेको अचुक औषधि हो । 

हाँसोको साँच्चिकै औषधि आविष्कार भयो भने के होला ? 
हाँस्नलाई ‘लाफिङ’ ग्यास छ रे ! सन्तुष्टिवाला हाँसोमा ‘साइड इफेक्ट’ हुँदैन । क्याप्सुल, ट्याबलेट लिएर हाँस्नु भनेको गाँजा खाएर हाँस्नुजस्तै हो । 

नेपालमा बढी हाँस्ने को हुन् ?
बढी हाँस्ने नेता हुन् । एकले अर्कालाई जिस्काउँछन् । एकले अर्काको असक्षमतामा ताली बजाउँछन् । मुस्कानै नआए पनि जनतालाई देखेर त्यत्तिकै मुस्कुराउँछन् । 

नेताहरूको ‘क्यारिकेचर’ बढी गर्नुहुन्छ । तपाईंलाई नेपालका कुन नेताको क्यारिकेचर गर्न गाह्रो र कसको सजिलो लाग्छ ? 
झलनाथ खनालको क्यारिकेचर गर्न गाह्रो छ । प्रचण्डको नक्कल गर्न चाहिँ धेरै सजिलो छ । 

 

प्रतिक्रिया