हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक भन्छन् । तर, कुनै बिरामी हाँसेर किन निको हुँदैन ?
बिरामी हेरेर हुन्छ । ‘नर्मल’ बिरामी हाँसेरै पनि निको हुन्छ । बिरामी खितखित गरेर नहाँस्ला । तर, उसको मन हाँस्यो भने त्यो बिरामी अवश्य पनि ठीक हुन्छ । औषधि खाएर बिरामी ठीक हुने होइन । उसको दिमागमा औषधि खाँदा ठीक हुन्छ भन्ने सकारात्मक तरंग उत्पन्न हुन्छ । त्यसैले ठीक हुन्छ ।
कोही लड्दा किन अर्काे कोही हाँस्छ ?
यो क्षणिका हँसाइ हो । कसैलाई धेरै ठूलो असर पनि नपर्ने, धेरै ठूलो चोट पनि नपर्ने । सामान्य दुःख पाउँदा हाँस्ने मान्छेको स्वभाव हो । कोही फ्याट्ट लड्दा ग्वाल्ल हाँस्नु तत्कालको कमेडी हो । यसले हानि पु¥याउँदैन । यो मजाक मात्रै हो ।
तपाईंको जीवनको सबैभन्दा हाँसो उठेको क्षण कुन हो ?
म बारम्बार हाँसेको छु । आफ्नै फिल्म ‘छक्का पञ्जा’ हेर्दा हाँसेको छु । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य दाइहरूको सिरियल हेर्दा धेरै पटक हाँसेको छु । मलाई हाँस्न धेरै चिज चाहिँदैन । तत्कालै हाँस्छु, तत्कालै भावुक पनि बन्छु ।
‘मुटुमाथि ढुंगा राखी हाँस्नु प¥या छ’ भन्ने नारायणगोपालको चर्चित गीत छ । मुटुमाथि साँच्चिकै ढुंगा राखियो भने के होला ?
ढुंगा हेरेर हुन्छ । मुटुले थेग्ने भए हाँस्न पनि सकिन्छ, रुन पनि सकिन्छ । मुटुले थेग्नै नसक्ने भए त हाँस्नु पनि परेन, रुन पनि परेन । एकै पटक माथि गइन्छ । ‘मुटुमाथि ढुंगा राखी हाँस्नु प¥या छ’ भनेको चाहिँ व्यथा छ, तैपनि हाँस्नु परेको छ भनेको हो ।
हाँसोले तनाव कम गर्छ, रक्तचाप सन्तुलित राख्छ, स्मरणशक्ति बढाउँछ, तन÷मन स्वस्थ बनाउँछ, शारीरिक सुन्दरता बढाउँछ आदि–आदि भन्छन् । यीबाहेक हाँसोका दुईचार फाइदा भन्नुस् त ।
हाँस्नाले काम पनि चाँडै बन्छ । हाँसेर गरिएको कुनै पनि प्रस्ताव अस्वीकार हुँदैन । सधैँ हाँसिरहने मान्छेलाई राम्रो पनि हुन्छ । हाँस्नेले नै प्रगति गर्छ, जिन्दगीमा केही गर्छ । तर, पनि ठाउँ, अवस्था हेरेर कति हाँस्ने भन्ने निर्धारण गर्नुपर्छ ।
हाँसोका बेफाइदा पनि त होलान् नि ?
कुसमय र कुठाउँमा हाँसिहाल्न मिल्दैन । मलामी गएको ठाउँ वरपर केही हँसाउने खालका घटना घटिहाले पनि हाँस्न मिल्दैन । किनभने, त्यो पीडादायक स्थल हो । त्यस्तै अरू धेरै संवेदनशील ठाउँ हुन्छन्, जहाँ हाँस्न मिल्दैन ।
विज्ञानले कुनै दिन हाँस्ने ट्याब्लेट, क्याप्सुल वा झोल औषधि बनायो भने संसार कस्तो हुन्छ होला ?
औषधि नखाईकन हाँस्नै नसक्ने हुन्छ । औषधिले क्षणिक काम गर्छ । औषधिबिनाका सबै मान्छे निरस हुन्छन् । औषधि किन्न नसक्नेले हाँस्नै पाउँदैनन् । यस्तो औषधि नबनोस् भन्न चाहन्छु ।
विद्वान् नेता डा. बाबुराम भट्टराईको ‘नहाँस्ने मान्छे’ को छवि छ । उनलाई कसरी हँसाउन सकिएला ?
सामान्य कुरामा उहाँ हाँस्नुहुँदो रै’नछ । यो उहाँको स्वभाव हो । उहाँको मन हाँसिरहेको हुन्छ, मुख मात्रै हाँसेको नदेखिएको हुन सक्छ । हामीले गरेको गाईजात्रा कार्यक्रममा एक पटक उहाँ आउनुभएको थियो । हामी हास्य कलाकार चाहिँ भीआईपी आउँदा कुन–कुन पन्चमा कसरी हाँस्दा रहेछन् भन्ने पर्दा वा अडिटोरियमबाट चिहाएर हेर्ने गर्छौं । उहाँको पनि हे¥यौँ । उहाँ अरू हाँसेका प्रहसन, संवादमा हाँस्नुभएन । एउटा कुरामा चाहिँ उहाँ हाँसेको मैले देखेँ । धुर्मुस र माग्नेको प्रहसन थियो । धुर्मुस अलि ‘एबनर्मल’ थियो । ऊ खाली ‘सुई हान्दिन्छु’ मात्र भन्थ्यो । संवादकै क्रममा माग्नेले ‘गोरखामा ४५ हजार मतदातामा ४७ हजार भोट हान्दियो । कसैले केही भन्यो ?’ भन्दा उहाँ गलल हाँस्नुभयो ।
कोही यस्तो मान्छे छ, जसलाई देख्नेबित्तिकै तपाईंको हाँसो छुटिहाल्छ ?
कोही–कोही हुन्छन् । धेरै मोटो मान्छे देख्दा मलाई हाँसो छुट्छ । तर, मोटाहरूको आफ्नै पीडा हुन्छ । कसैको पीडामा हाँस्न मिल्दैन ।
नेपालमा बढी हाँस्ने को हुन् ? नेता, व्यापारी, डाक्टर, इन्जिनियर, कलाकार, विद्यार्थी वा को ?
नेपालमा धेरै हाँस्ने योगी विकासानन्द पो हुन् कि ?
अनि कम हाँस्ने नि ?
वैज्ञानिक, विद्वान्, प्रोफेसरहरू कम हाँस्छन् कि जस्तो लाग्छ । जो भित्रैदेखि निरस छ, हरेक कुरालाई नकारात्मक सोच्छ, त्यस्ता मान्छे जति हँसाउन खोजे पनि हाँस्न सक्दैनन् जस्तो लाग्छ ।
हँसाउने नाममा तपाईं हास्य कलाकारहरूले जथाभावी गरेको आरोप छ । जस्तो, अपांगता भएका मानिसको पनि तपाईंहरू मजाक गर्नुहुन्छ । महिलालाई त्यस्तै उडाउनुहुन्छ । गरिबको पनि उपहास गर्नुहुन्छ । हास्य कलाकारले सही र गलतको विवेक राख्नुपर्दैन ?
यो सबै हास्य कलाकारलाई सोधिने प्रश्न होइन । कसले ग¥यो ? त्यसलाई सोधिने प्रश्न हो । मैले गरेका प्रहसन, व्यंग्य, फिल्म, टेलिफिल्ममा मेरो भूमिका हेरेर यस्ता प्रश्न सोधिनुपर्छ । जल्ले गरेको हो, त्यल्लाई भन्नुपर्छ । मेरो चेतनाले मलाई भने यस्तो गर्न दिँदैन ।
मनैदेखि हाँस्नलाई मान्छेसँग के हुनुपर्छ ?
मान्छे टेन्सनमुक्त हुनुपर्छ । पिर–व्यथा सबैसँग हुन्छ तर त्यसलाई बिर्सन सक्ने क्षमता हुनुपर्छ । त्यति भए मज्जाले हाँस्न सकिन्छ ।