गुट–उपगुटको समस्यालाई विधिसम्मत बैठकमा समाधान खोज्न सकिन्छ : नेपाल 

राम्रो अनलाइन     २९ चैत २०७७, आइतबार
गुट–उपगुटको समस्यालाई विधिसम्मत बैठकमा समाधान खोज्न सकिन्छ : नेपाल 

पर्सा । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निकाल्न सकिने बताएका छन् । उनले पार्टीभित्र देखिएको गुट–उपगुटको समस्यालाई विधिसम्मत बैठक बसी छलफलको माध्यमबाट टुङ्गोमा पु¥याउन सकिने बताए । 

प्रेस सङ्गठन नेपाल पर्साले आइतबार वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सङ्गठनको विधानअनुसार छलफल गरे समस्याको समाधान खोज्न सकिने बताए ।

उनले विगतका तीता अनुभावलाई पछाडि छाड्दै सकारात्मक छलफलको माध्यमले पार्टीभित्रका समस्यालाई समाधान गर्न आफूहरु तयार भए पनि पार्टी नेतृत्वको कारण समस्या यथावत रहेको आरोप लगाए । एकले अर्कालाई निषेध गर्ने प्रवत्तिले कहीँ नपुग्ने भएकाले वर्तमान समस्याको समाधान वार्ता र संवादबाटै खोजिनु पर्ने नेपालले बताए ।

नेता नेपालले नेता कार्यकर्तामाथि गरिएको कारबाहीले पार्टीलाई कमजोर तुल्याउने बताए । उनले पार्टी विधान र विधिबाट चल्नुपर्ने मान्यता राख्ने नेता\कार्यकर्तालाई कारबाही गरी कम्युनिष्ट आन्दोलनलाई समेत कमजोर पार्ने र मुलुकमा राजनीतिक सङ्कट उत्पन्न गरेको दाबी गरे ।

प्रतिक्रिया